जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, १६ : २७
जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई अभियानमा खटाएको छ । ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

‘पार्टीका दुई सय १५ केन्द्रीय सदस्यलाई देशभरीका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको हो,’ उनले भने, ‘सबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेशसभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म सङगठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ ।’

अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने एवं पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनका लागि खटाइने सो पार्टीले जनाएको छ । तोकिएका अभियन्तालाई प्रदेशस्तरिय अभिमुखीकरणको आयोजना गरिने जनाइएको छ । 

विराटनगरमा आगामी भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५ गते र टीकापुर तथा धनगढीमा भदौँ २५ गते प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम हुने केन्द्रीय सदस्य बस्नेतले बताए । 

उनका अनुसार अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्य, अभियन्ता, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्य, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा जनसङ्गठनका पदाधिकारी सहभागी हुनेछन् । उक्त अभियान भदौदेखि शुरू भई मङ्सिर मसान्तसम्म सञ्चालन हुनेछ ।