शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी

एजेन्सी

विहीबार, ३१ साउन २०८१, ०९ : १६
शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले जुलाईमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएका मृत्युको जिम्मेवार व्यक्तिहरूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणमा मुद्दा चलाउने भएको छ।

कानुन, न्याय र संसदीय मामिलासम्बन्धी अन्तरिम सरकारका सल्लाहकार आसिफ नजरुलले बुधबार उक्त कुरा बताएका हुन्। 

उनले भने, ‘आरक्षण सुधार आन्दोलनका क्रममा भएको नरसंहार र गोलीकाण्डको सुनुवाइका लागि केही मुद्दा दर्ता भइसकेका छन्। तर विद्यार्थी, मानवअधिकार संगठन र अन्य धेरैले यसलाई मानवताविरुद्धको अपराधका रूपमा छानबिन गरिनुपर्छ भनेका छन्।’ 

‘हामीले जुलाईमा भएको नरसंहारका लागि जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणमा कारबाही गर्न सकिन्छ भन्ने पायौँ’, उनले थपे।

आसिफ नजरुलले अगाडि भने, ‘अनुसन्धान टोलीले संयुक्त राष्ट्रसंघअन्तर्गत काम गर्नेछ। हत्यामा संलग्न पूर्वप्रधानमन्त्री शेख हसिनालगायत कसैलाई पनि छुट दिइने छैन।’

बंगलादेशमा गत जुलाईमा शेख हसिना सरकारविरुद्धको भएको आन्दोलनमा झन्डै ४ सय मानिस मारिएका थिए।