पहिरोमा आफन्त गुमाएका परिवारलाई राहत प्रदान

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, १४ : ५०
पहिरोमा आफन्त गुमाएका परिवारलाई राहत प्रदान

बाग्लुङ। गत साता बागलुङको बडिगाड गाउँपालिका– ९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । 

प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका प्रतिपरिवारलाई नगद रु दुई लाखका दरले राहत रकम उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पहिरोमा परी ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमै पुगेर राहत उपलब्ध गराएको हो ।​प्रजिअ बरालले सरकारले प्राकृतिक विपद्‌मा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीतिअनुसार राहत रकम प्रदान गरिएको बताए ।

बडिगाड गाउँपालिका–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौ जनाको ज्यान लिएको थियो ।पहिरोमा परेका एक बालक अझै बेपत्ता छन् ।

 

 

 

पहिरोमा पुरिएर १० जना घाइते भएका थिए । गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।सोही दिन वडा नम्बर–९ नयाँबस्तीमा पहिरोमा परी दुई जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस