विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, ०७ : १७
विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

बारा (सिम्रौनगढ) । बाराको सिम्रौनगढ नगरपालिकामा विषाक्त खानाका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।  सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

आइतबार अमिरी राम चमारका नाति नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरेका थिए । भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरी खाना पकाएर खाँदा बिरामी भएका ३ जना बालबालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । 

शनिवार राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा राम र ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीया छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखा परेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूको उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमा रामको बाटोमै मृत्यु भएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्थालाई थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पठाएको थियो ।

नेसनल मेडिकल कलेजमा उपचारको क्रममा गएराति पुष्पा राम र कृष्णदन्दन रामको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  खाना खाएपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएकाले फुड प्वाइजनको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस