इपिएल क्रिकेटको फाइनलमा विराटनगर र भैरहवा भिड्ने

शुक्रबार, १४ पुस २०७४, १७ : ११
इपिएल क्रिकेटको  फाइनलमा विराटनगर र भैरहवा भिड्ने

चितवन । सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली  विराटनगर वारियर्स र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच हुने सो खेल हुँदै छ ।  

विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ्, जुन नेपाली क्रिकेट इतिहासमा नै सर्वाधिक पुरस्कार राशि हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा रु २०  लाख पुरस्कार राशि थियो ।

बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यता विराटनगर भने जारी प्रतियोगिताको एक्लो अपराजित टोली हो ।

त्यस्तै भैरहवाले पनि विराटनगरबाहेक अरु सबै खेलमा जित हात पारेको छ ।
विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो । अब फाइनल खेलमा भैरहवालाई विराटनगरसँग हारको बदला लिने अवसरसमेत हुनेछ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस