रोहित पौडेल आबद्ध टोली फाइनलमा

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, ०७ : ४८
रोहित पौडेल आबद्ध टोली फाइनलमा

काठमाडौ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स ग्लोबल टी–२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ । 

दोस्रो क्वालिफायरमा ब्राम्पटन वूल्भ्सलाई हराउँदै टोरोन्टो फाइनलमा प्रवेश गरेको हो । टोरोन्टोले ब्राम्पटनलाई ५ विकेटले हराएको हो ।

ब्राम्पटनले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १० बल अगावै मात्र ५ विकेटको क्षतिमा पछ्यायो । टोरोन्टोका लागि कप्तान कोलिन मुनरोले सर्वाधिक ३६ रनको योगदान दिए ।

त्यस्तै, मोहम्मद नवाजले २४ रन जोडे भने उन्मुक्त चन्दले १९ तथा एन्ड्रियस गोउसले १८ रन बनाए । ब्राम्पटनका लागि अखिल कुमारले ३ विकेट लिए ।

यसअघि निक हबसनलको अर्धशतकको मद्दतले ब्राम्पटनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । 

टोरोन्टो पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । आइतबार राति हुने फाइनलमा टोलीले मोन्ट्रेयाल टाइगर्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस