काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले आज (शुक्रवार)देखि प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेपछि सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका हुन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले शुक्रवारदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका थिए । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवारदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।
प्रधान सेनापति शर्मा तीन वर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् । कार्यभार बुझबुझारथ समारोहमा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रूपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरे । त्यस अवसरमा पूर्वप्रधान सेनापतिहरू, रक्षा मन्त्रालयका सचिव, रथीवृन्दलगायत उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान सेनापतिद्वारा ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापति र मंगोलियाका राजदूतबिच भेटवार्ता