भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट पूर्ण इजलासमा

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १२ : ४४
भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट पूर्ण इजलासमा

काठमाडौँ । भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाइ हुँदैछ । पूर्व सचिव सूर्यनाथ उपाध्यायले वारेसमार्फत २०८० माघ १५ गते दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासमा पेसी तोकिएको हो ।

रिट निवेदनमा २०८० पुस १९ गते नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधानको प्रतिकूल तथा देशको हितविपरीत रहेको जिकिर गरिएको छ ।सन्धि ऐन, २०४७ को दफा ३ अन्तर्गत पूर्णाधिकार प्राप्त नगरी सम्पन्न गरिएको सन्धि उत्प्रेषणको आदेशले बदर गर्न पनि रिट निवेदनमा माग गरिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले २०८० माघ १६ गते रिट निवेदनको पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । २०८० फागुन १३ गते न्यायाधीशद्वय डा. कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलासमा पेस हुने आदेश दिएको थियो ।

२०८० फागुन २९ गतेदेखि न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासमा यो मुद्दा ‘हेर्दाहेर्दै’ मा रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस