हसिनाले राजीनामा दिएको दिन बङ्गलादेशमा १३५ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १३ : ०४
हसिनाले राजीनामा दिएको दिन बङ्गलादेशमा १३५ जनाको मृत्यु

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकै दिन १३५ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड भयो । कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ ।

सञ्चारमाध्यमका अनुसार ढाकाबाहिर सावर र धमराई क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच भएको गोलीबारीमा १८ जनाको मृत्यु भएको थियो । अश्रुग्यास र गोली प्रहारबाट अरु ५० जना घाइते भएका छन् ।

उत्तरा क्षेत्रमा प्रहरी चौकीले प्रदर्शनकारीमाथि गोली चलाउँदा अरु १० जनाको मृत्यु भएको थियो । गोली चलेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले प्रहरी चौकी घेरा हालेर आगजनी गरेका थिए । ढाकाका विभिन्न अस्पतालले ७८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

हबिगञ्जमा प्रदर्शनकारी र प्रहरीबिच भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको छ । यस क्रममा एक सय जना घाइते भए । प्रहरीको गोली लागेर तंगेलमा दुई र धनबारीमा एक जनाको मृत्यु भएको थियो । त्यहाँ अरु ४० जना घाइते भएका छन् । लक्ष्मीपुर क्षेत्रमा भएको हिंसामा ११ जनाको मृत्यु भयो भने ३५ जना घाइते भएको बताइएको छ । पूर्व युवा नेताको घर अगाडि सात जनाको शव भेटिएको थियो । कुश्तियामा एक किशोर सहित ६ जनाको मृत्यु भएको छ । सतखीरामा पनि तीन जनाको मृत्यु भएको छ ।

अवामी लिगका महासचिवको होटेलमा आगलागी, आठ जनाको मृत्यु

जेस्सोरमा अवामी लिगका महासचिव शाहीन चक्लादारको होटेलमा आगजनी हुँदा आठ जनाको जलेर मृत्यु भएको छ भने ८४ जना  घाइते भएका छन् । यसबाहेक चित्तमोरमा एउटा होटेलमा आगजनी भएको छ । खुल्नामा अवामी लिगका अध्यक्ष जीएम मोहसिन रजा, उनका ड्राइभर आलमगीर र निजी सहायक मोफिजुल इस्लामलाई भीडले कुटपिट गरी मारेका छन् ।

पूर्व मेयरलाई जलाएर मारियो

हिंसात्मक प्रदर्शन चर्किरहँदा बरिसालमा पूर्व मेयर तथा अवामी लिगका अध्यक्ष सेर्नियाबत सादिक अब्दुल्लाहको जलाएर हत्या गरिएको छ । यसबाहेक थप दुई जनामा आगो लगाइएको छ । गाजीपुरको सफीपुरमा सीमा रक्षक बंगलादेशी सैनिकले आक्रमणकारीमाथि गोली चलाएको छ । अरु २ जनालाई पनि आगो लगाइएको थियो । प्रदर्शनकारीहरूले अवामी लिग पार्टीका सांसद, मन्त्रीको घरको साथै प्रहरी चौकीमा आगजनी गरेका छन् ।

त्यसैगरी नौगाउँस्थित खाद्यमन्त्री साधनचन्द्र मजुमदारको घरमा पनि तोडफोड र आगजनी गरिएको छ । नरैलमा सांसद मशरफी मुर्तजाको घरमा तोडफोड भएको छ । यहाँ अवामी लिगको कार्यालयमा आगजनी गरियो र अध्यक्ष सुभाषचन्द्र बोसको घरमा तोडफोड गरियो। नारायणगञ्जमा सांसद शमीम उस्मान र अवामी लिगको कार्यालयमा तोडफोड भएको छ । कोमिल्लामा सांसद बहाउद्दीन बहारको घरमा आगजनी भएको छ । आवामी लिगको अन्य कयौँ सांसद र र उच्च पदस्थ अधिकारीको घर, पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ ।

शेरपुर जेलबाट ५ सय कैदी फरार

जिल्ला कारागारभित्र पसेर प्रदर्शनकारीहरूले त्यहाँका ५ सय कैदीलाई भगाएका छन् । चटगाउँसहित ६ प्रहरी चौकीमा आक्रमण गरेर आगजनी गरिएको छ । चटगाउँ, पटेंगा, ईपीजेड, कोतवाली, अकबर शाह र पहाडाली प्रहरी चौकीमा भीडले आक्रमण गरेको थियो । आक्रमणमा कयौँ प्रहरी घाइते भएका छन् ।