रिडी–वामी सडकमा २२ करोडको लागतमा चार स्थामा पक्की पुल बन्दै

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १२ : ०१
रिडी–वामी सडकमा २२ करोडको लागतमा चार स्थामा पक्की पुल बन्दै

गुल्मी । गुल्मी जिल्लाको रिडी रुद्राबेनी वामीटक्सार सडकका ४ ठाउँमा पक्की पुल बन्ने भएका छन् । उक्त सडकखण्डमा पुल नहुँदा बर्खामा स्थानीयले सास्ती खेप्दै आएका थिए ।सडक सञ्चालन भएको वर्षौं बित्दासमेत पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाएको समेत उदाहरण छन् । पुल नहुदा वर्षातको समयमा बिरामी तथा जेष्ठ नागरिकले यात्रामा अत्यन्तै दुःख भोग्नुपर्ने अवस्था छ ।

वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुट्ने सवारी साधनहरु वर्षातको समयमा खोला बढ्दा बाटोमै घन्टौं कुरेर यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट–३ का वसन्त अधिकारीले बताए । खोला तर्न नसक्दा बाटौमै बिरामी तथा जेष्ठ नागरिकहरुले अत्यन्तै दुःख झेल्नु परेको अधिकारीले बताए ।

२२ करोडको लागतमा चार पक्की पुल बन्दै

वषौंदेखि सास्ती खेप्दै आएका नागरिकको समस्यालाई मध्यनजर गर्दै चार वटा स्थानमा पक्की पुल बन्ने भएका छन् । सडक डिभिजन कार्यालय, पाल्पामार्फत् सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै, डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा बन्ने भएको हो ।

त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दी खोला पुल तल्लाफाँटमा बन्ने भएको सडक डिभिजन कार्यालय पाल्पामा सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताए । नादेवा खोला पुल शाहघाटमा २० मिटर लम्बाइ, डहरे खोला पुल ४० मिटर लम्बाइको पुल बन्ने भएको हो ।

त्यस्तै भार्से खोला पुल चोरकाटेमा ४० मिटर लम्बाइ र गिद्दी खोला पुल तल्लाफाँटमा २० मिटरको निर्माण हुने इन्जिनियर गौतमले बताए । ०८१ साल वैशाख १४ गते सम्झौता भइ २०८२ साल साउन २२ गते सम्पन्न गर्ने मिति रहेको छ । पुलको हालसम्म कुनै पनि काम सुरु भएको छैन ।

चारवटा पुलको २२ करोड ३१ लाख ६० हजार २१० रुपैयाको लागतमा इलाइट कन्सट्रक्सन काठमाडौंले निर्माण गर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पुलको सम्झौता भएर डिजाइन स्वीकृत लगत्तै मनसुन सुरु भएको र वर्षातको समय पश्चात् निर्माण कार्य सुरु अगाडि बढने इन्जिनियर गौतमले बताए ।

पक्की पुल नहुँदा डहरे खोलामा अत्यन्तै जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट नगरपालिका वडानम्बर–४ भुवाचिदीका समाजसेवी ज्ञानहरी सापकोटाले बताए। धेरै यात्रुहरुले सास्ती भोग्नु पर्ने बाध्यता दिनहुँ हुने गरेको उनको भनाइ छ ।

रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारी साधनहरु आउ–जाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।

प्रतिक्रिया दिनुहोस