के रहला नेपाली भाषाको अस्तित्व ?

शुक्रबार, १९ असोज २०७५, १४ : २४
के रहला नेपाली भाषाको अस्तित्व ?

- ज्योति तिलाञ्जली 
हाम्रो गर्विलो आजाव भनेको नेपाली भन्नु हो । यसरी भनूँ, हरेक देशका बासिन्दाले आफ्नो देशका बारेमा गुणगान गाउनुपर्छ, गाउँछन् र त्यसलाई अभिमानका रुपमा पनि स्वीकार गर्छन् । हामी पनि नेपाली भाषालाई आत्मिक मान्छौँ र नेपाली हुनुको अभिमानले उत्साहको सगरमाथामा यात्रा गरिरहेका हुन्छौँ । तर यो खुसी कति समय टिक्छ ? सवालित पक्ष भएको छ । हामी विकासोन्मुख अवस्थामा बाँचेका छौँ । त्यतिमात्र होइन, गरिब नै छौँ भनौँ न । यस गरिबीको पीडाले हाम्रो धेरै पक्षलाई आक्रान्त पारेको छ । जस्तो ः राजनीति, शिक्षानीति, अर्थनीति, समाजसापेक्षता, सांस्कृतिक पहिचान आदि । त्योभन्दा प्रवल समस्यामा यतिबेला हाम्रो भाषा परेको अनुभव देखिन्छ । हिजोका पुराना भाषाहरु (संस्कृत, हिब्रु...) जसरी केही लेख्य सामग्रीमा मात्र सीमित भएका छन् त्यसरी नै नेपाली भाषा पनि मृतप्रायः अवस्थामा सीमित हुन सक्दैन भन्न सकिन्न । 

हामी विकासका नाममा र अरुको सिको गर्ने नाममा आफू र आफ्नो अपनत्वलाई नजानिँदो रुपमा खतराको खाडलमा त धकलिरहेका छैनौँ ? यस पक्षमा कसको चासो कति छ खोज्ने बेला भएको छ । यतिबेला साना बालबालिकालाई बोर्डिङ स्कुल पढाउने कुरा एकातिर फेसनका रुपमा आएको छ भने अर्कातिर बाध्यात्मक स्थिति छ । कारण कसो हो भने, हामी आफै सवल र सफल नभएका कारणले अरुमा आश्रित राजनीति र अर्थनीतिका साथै शिक्षानीतिमा बेरिएका छौँ । यतिबेला अंग्रेजी भाषाको पठनपाठन सबैभन्दा बढी रहर र बाध्यता दुवै भएको छ । विश्वबजारमा चाहेअनुसार आफूलाई प्रस्तुत गर्न यो विषयको अध्ययन चाहिन्छ नै । यसले हामलिाई विश्व बजारमा समाहित र घुलमिल हुन सहयोग गर्दछ । त्यस्तै पठनका दायराहरु दिनानुदिन फराकिलो हुँदै गइरहेको छ भने अर्कातिर कोठामा बसेर औँलाका सहायताले विश्व पढ्न सक्ने समयको पनि विकास भएको छ । अंग्रेजी भाषा अन्तराष्ट्रिय स्तरको भाषाका रुपमा विकसित भइसक्दा यो भाषा हिजाका पुस्ताहरुले भनेझैँ गाई खाने भाषा भनेर हेप्न हुँदैन र यसको अध्ययन पनि गहन रुपमा हुनुपर्दछ । तर सवाल केमा हो भने नेपाली भाषाको अस्तित्व कसरी जोगाउने भन्नेमा हो । 

यो समय कति विद्यालयहरुमा नेपाली भाषा बोल्दा उनहिरु कारवाहीमा पर्ने गरेका छन् यो विद्यार्थीमाथिको बनाइएको अनुशासनको दायरा कि नेपाली भाषामाथिको बलात्कारिता ? यस्तो प्रश्नहरु हिजोआज किन यस्तो काम भइरहेको छ भनेर कुनै सवाल जवाफ गर्न कठिन छ कारण अहिलेका अभिभावकलाई पनि नेपालीभन्दा अंग्रेजी बोलिदिएमा खुसी हुन्छन् । अझ समस्या कहाँ खडा हुन्छ भने नेपालीमा बुझ्न गाह्रो भएका शब्दहरुलाई अंग्रेजीका प्रयोगले सहज रुपमा बुझ्न सक्छन् विद्यार्थीहरुले । यो बिडम्बना कि गर्व ? यसै हो भने नेपाली भाषाको अस्तित्व स्थापना गर्ने ठाउँ निकाय कहाँ र के त ? प्रश्न कहाँ उठाउने ? कुनै निकाय नै छैन । 
भाषाको संरक्षण गर्न नयाँ पुस्ताको भूमिकालाई कसरी प्रयोग गर्ने भन्ने बहसमा हाम्रा शिक्षाविद्हरुमा नै खिचातानी छ । नेपाल प्रज्ञा प्रतिष्ठानमानै भाषामाथि विवाद भएको थियो । जसमा नेपाली भाषामा भएको वर्णविन्यासका बारेमा विवादात्मक बहस भएको थियो । ती र त्यस्ता कार्यक्रमहरु नेपाली भाषाका क्षेत्रमा धेरै भए । मलाई अझ लाग्छ, हामी आफ्नै मातृमाषामा पनि राजनीतिक बलात्कार गरिरहेका रहेछौँ । २०७४ मंसिर महिनाबाट नेपाली भाषामा रहेको विवादहरु केही मात्रामा समाधान त भयो र नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोशको दसौँ संस्करण प्रकाशन त गरेको छ तर अझ विद्यालय तहमा हेर्ने हो भने विवादित अवस्थाकै वर्णविन्यास छ जसका कारण यस विद्यालयीय पुस्ताका विद्यार्थीहरुले भोलिको समयमा सिक्ने भाषा भनेको त्यही विवादित वणविन्यासयुक्त भाषा हो । यसरी कुन हिसाबले हामीले हाम्रो भाषालाई बलियो र स्तरीय बनाउन सक्छौँ जब कि हामीभित्रै भाषामा समेत यति धेरै विवाद र राजनीति छ । 
अर्काे पक्ष भाषालाई राम्रो बनाउने हो भने नेपालका धेरै मिडियाहरुमा एक न एक भाषा सम्पादकको आवश्यक छ । नेपालमा दैनिक रुपमा प्रकाशन हुने पत्रपत्रिकाहरुले केही मात्रामा त भाषा सम्पादक राख्ने गरेका छन् तर पछिल्लो समय आएर धेरै अनलाइन पत्रिका, टेलिभिजनहरुमा भाषाको शुद्धीकरण भएको पाइन्न । यसको समाधानका लागि राज्यस्तरबाट नै कुनै बलियो कदम चाल्न आवश्यक रहेको देखिन्छ । रेडियो तथा एफ एममा बोलिने भाषामा पनि सुधारको आवश्यकता देखिन्छ । कार्यक्रम आइरहँदा त्यो कार्यक्रम नेपालीमा हो कि अंग्रेजीमा हो भन्ने कुराको नै निक्र्यौल हुन सक्दैन । यसरी कार्यक्रम चलाउँदा सुन्ने स्रोताले के भाषा बुझ्ने ? यो सवालकै पक्ष हो भन्ने लाग्छ मलाई  । त्यसैले नेपाली भाषाको जगेर्नाको लागी जुन विषय वा जुन भाषमा सवाल उठाईएको छ त्यसै भाषामा सम्पर्क कुराकानी हुन आवश्यक छ ।

यसरी आफ्नो भाषालाई संरक्षण र सवद्र्धन गर्ने हो भने स्पष्ट नीतिको तर्जुमा गरेर कार्यान्वयन गर्न सकियो भने हामीले हाम्रो भाषाको अस्तित्व जोगाउन सक्छौँ नत्र उही हराएका भाषाहरुको तहमा पुग्न बेर लाग्दैन । यसका लागि सोच्ने कि ? 
 

प्रतिक्रिया दिनुहोस