ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ : उद्योगमन्त्री भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, १४ : ३४
ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ : उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले समितिमा विचाराधीन विधेयकलाई संसदमा छिटो पठाउन सांसदहरूले चासो दिनुपर्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संशोधन कर्ता सदस्यहरूले उठाएका प्रश्नहरूबारे बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको थियो । 

बैठकमा बोल्दै मन्त्री भण्डारीले विधेयकहरू अन्य समितिमा पनि छलफल र संशोधनका क्रम जारी रहेको बताए । उनले संसद्को गत अधिवेशनमा पास गर्नुपर्ने जति कानुनहरू पास हुन नसकेको भन्दै अहिले विशेष ध्यान दिनुपर्ने बताए । उनले समिति सदस्यहरूको चासो, सरोकार र प्राथमिकतामा विधेयकहरू पर्नुपर्ने भन्दै सरकारको तर्फबाट पनि संसद्लाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने आवश्यकता रहेको बताए । उनले कानुन निर्माण संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको बताए । उनले ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्ने बताए । 

मन्त्री भण्डारीले प्रदेश वा स्थानीय तहमा संघीय संसद्का कानुनहरू निर्माण भइसकेपछि मात्रै कानुन लागू हुने र संघका आधारमा कानुन निर्माण गर्ने हुँदा संघमा छिटोभन्दा छिटो कानुन पारित गर्नुपर्ने आवश्यकता रहेको बताए । 

मन्त्री भण्डारीले समितिमा विधेयकमा सांसदहरूले बढी सहभागिता, उत्सुकता देखाउन जरुरी रहेको बताए । कानुन निर्माणसँगै कानुनका अभावले प्रभावित भएका थुप्रै कामहरूलाई डेलिभरी दिनसक्ने र सरकारलाई प्रभावकारी बनाउन सकिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस