बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, ०९ : २१
बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो । 

सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो ।

“बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताए । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो । 

आयोजनाअन्तर्गत रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरेको छ । 

आर्थिक वर्ष २०७८-७९ सम्झौता भएको सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटको म्याग्दी नदीको किनारमा दुईवटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएका हुन् ।  बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ११० मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल रु दुई करोड ६८ लाखमा बनेको हो । 

पर्वतको जलजला गाउँपालिका–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा १३८ मिटर लामो सोही प्रविधिको पर्खाल निर्माण भएको छ । यो योजना निर्माणका लागि रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो कम्पोजिट पर्खाल  निर्माण भएको छ । 

प्रतिक्रिया दिनुहोस