बालकोटदेखि सिरुटारसम्मका ७० घर डुबे, बागमती किनाराका सुकुम्बासी बस्तीमा ​पस्यो बाढी

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १३ : ५६
बालकोटदेखि सिरुटारसम्मका ७० घर डुबे, बागमती किनाराका सुकुम्बासी बस्तीमा ​पस्यो बाढी

काठमाडौं। मंगलबार मध्यरातदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौं उपत्यकाका तीन जिल्ला प्रभावित भएका छन् । खोला नदी किनारका बस्तीमा बाढी पसेको छ ।भक्तपुरमा ७० भन्दा धेरै घर डुबानमा परेका छन् । काठमाडौंको कुलेश्वर क्षेत्रमा घरमा बाढी पस्दा खाद्यान्नका गोदाम डुबानमा परेका छन् ।

 

 

 

भक्तपुरको मध्यपुरथिमी नगरपालिका‐ ५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्च स्थानमा सार्न मै उनीहरू व्यस्त रहे ।

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाए भने कयौंका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमी नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहाँ लाखौंको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।

 

 

 

 

सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कूल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ ।सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरू बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबानमा परेको छ ।

बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको  प्रहरी र स्थानीयले ५० जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए । रातिदेखिनै भक्तपुर अस्तव्यस्त भएको उनले बताए । यता बागमती नदीमा बिहान आएको बाढी सुकुम्बासी बस्तीमा पसेको छ । थापाथली र बल्खुमा सुकुम्बासी बस्तीमा बाढी पसेको हो ।

थापाथली तरकारी बजार बाढीले डुबानमा परेको छ भने तरकारी ल्याएका केही गाडी बाढीले पल्टाइदिएको थियो ।बिहान ९ बजेपछि भने नदीमा पानीको सतह घटेको छ ।

प्रतिक्रिया दिनुहोस