सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, ०८ : ३४
सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

सर्लाही। सर्लाहीको ईश्वरपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

ईश्वरपुर नगरपालिका- ११ खोरियाबाट बबरगंजतर्फ जाँदै गरेको बा २२ प ३९३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बीआर ३० डी ३२३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई मोटरसाइकलमा सवार पाँच जना र एक जना पैदल यात्री गरेर ६ जना घाइते भएका हुन्। 

दुर्घटनामा भारतीय बीआर ३० डी ३२३१ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर ११ निवासी २५ वर्षीय दिपेश शर्मा, उनकी पत्नी २२ वर्षीया अन्जली ठाकुर र उनीहरुकी ७ महिनाको छोरा दिब्यान्स घाइते भएका छन्। 

त्यसैगरी दुर्घटनामा बा २२ प ३९३० नम्बरको मोटरसाइकलका चालक सर्लाहीकै चन्द्रनगर गाउँपालिका- ६ का १८ वर्षीय रवी साह, सोही ठाउँका जयकिशोर साहकी १५ वर्षीया छोरी विमला साह र स्थानीय लक्ष्मी साहकी १८ वर्षीया छोरी सुस्मा कुमारी साह घाइते भएका प्रहरीले जनाएको छ। सुस्मा पैदल यात्री हुन्। 

घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनापछि प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा राखेको छ।