कोरियन विश्वविद्यालयले दिँदै आएको छात्रवृत्ति १० गुणाले बढायो

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, १५ : ०४
कोरियन विश्वविद्यालयले दिँदै आएको छात्रवृत्ति १० गुणाले बढायो

काठमाडौं। कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।​

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल-को अपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक प्रा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा सङ्कायका डीन प्राडा अनिल पोखरेलबीच शुक्रबार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो ।

कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकामा १० गुणा बढाएर तीन हजार डलर पुर्‍याएको हो ।कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम १० गुणा बढाएकामा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा जङलाई धन्यवाद दिए ।

प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकसँग अन्तरक्रियासमेत गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

 

 

 

 

 

 

 

विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ ।विद्यार्थी र प्राध्यापक आदान प्रदान कार्यक्रमअन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीन विद्यार्थी र एक प्राध्यापक केही सातापछि कोरिया जाँदैछन् ।

विद्यार्थी तथा प्राध्यापक आदानप्रदान कार्यक्रममा कोरिया जाने प्रक्रिया शुरू भइसकेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस