तस्करीबारे जिल्ला सुरक्षा समितिको बैठक, छुट्टै छानबिन समिति बनाउने तयारी

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १० : ३८
तस्करीबारे जिल्ला सुरक्षा समितिको बैठक, छुट्टै छानबिन समिति बनाउने तयारी

विराटनगर । मोरङका सुरक्षा निकायकै बेमेल र विवादका कारण तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालयमा बुधबार बोलाएको बैठकमा प्रकाशित समाचारको विषयमा छलफल भएको जानकारी दिए। ‘समाचार प्रकाशित भएको छ ।

यो विषयमा के हो भनेर तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल भएको छ,’ भट्टराईले भने, ‘समाचारमा भनेजस्तो तीनै निकायका प्रमुखबिच बेमेल छैन । आजको बैठकले तस्करीको विषयमा मैले मेरो तहबाट छानबिन गराउने भनेर भनेको छु ।’

प्रमुख जिल्ला अधिकारी भट्टराईले समाचारमा उल्लेख भएजस्तो तस्करी नखुलेको र कडाइ गरिएको पनि बताए । यद्यपि समाचार आएपछि यस विषयमा थप छानबिन गराउनु पर्ने आवश्यकता भएको उनले बताए ।

‘मैले प्रहरीका प्रमुखहरूलाई छानबिन गराउँछु भनेको छु । म मेरो लेबलबाट छानबिन गर्छु । आफ्नो हिसाबले तयार हुनुहोला। अप्रिय निर्णय गर्न सक्छु भनेको छु,’ उनले भने, ‘सबै एक ठाउँमा बसेर गुड कोओर्डिनेसन गरेर काम गर्ने कुरा भएको छ । छानबिन समिति बनाउँछु । म समिति बनाएपछि सार्वजनिक गर्छु ।’

समाचारमा मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सशस्त्रका एसपी विश्व खड्का र राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईंको विषयमा बेनामे उजुरी परेको उल्लेख छ । उक्त बेनामे उजुरीले तीनै निकायका प्रमुखहरूबिच बेमेल भएको र खुलेआम तस्करी भइरहेको जनाइएको थियो । उक्त बेनामे निवेदनमा सीमा क्षेत्रमा घुमुवा परिचालन गरेर तस्करी खुलाएको र व्यापक पैसा उठाएको उल्लेख छ ।

‘गृहमन्त्रीको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी सादा पोसाकमा घुमुवा प्रहरी हौँ भन्दै तस्करसँग साँठगाँठ गरी दिनमा र रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसार पसार भइराखेको छ,’ मोहम्मद रफिकको नाममा परेको निवेदनमा भनिएको छ ।

सो निवेदनमा ‘पटक पटक उजुरी परे पनि प्रदेश प्रहरी कार्यालयमा छानबिन गरे पनि घुमुवा प्रहरीहरूलाई कारबाही अनुसन्धान नगरी फेरि त्यही काममा खटाएको र २/४ दिन बिदा छोड्ने र फेरि त्यही काममा लगाउने गरेको’ उल्लेख छ ।

निवेदनमा सीमा नाका, ढाट, दरैया, पोस्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरी लत्ताकपडा, लेडिज आइटमहरू आइरहेको पनि उल्लेख छ। एसपी कार्कीले आफूहरूले तस्करी नियन्त्रणमा कडाइ गरेको बताए । यस्तै अनुसन्धानका एसपी प्रसाईँले पनि समाचारमा भनेजस्तो बेमेल नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस