बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण

एजेन्सी

विहीबार, १० साउन २०८१, ०९ : २३
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको चुनावी प्रतिस्पर्धाबाट आफूलाई अलग गरेपछि पहिलोपटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

यस क्रममा बाइडेनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु। राष्ट्रपतिका रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो।’

उनले थपे, ‘अमेरिका नाजुक मोडमा छ, अहिले हामीले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्नेछ।’

राष्ट्रपति बाइडेनले अगाडि बढ्ने वा पछि हट्ने, आशा रोज्ने वा घृणा, एकता कि विभाजन, यसबाट एउटा छनोट गर्नुपर्ने बताए। 

बाइडेनले भने, ‘मलाई लाग्छ कि राष्ट्रपतिका रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यका लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालका लागि योग्य छ।’

उनले थपे, ‘हाम्रो लोकतन्त्रलाई बचाउन कुनै पनि कुराले बाधा पुर्‍याउन सक्दैन। यसमा व्यक्तिगत महत्वाकांक्षा पनि पर्छ।’ 

नयाँ पुस्तालाई कमान्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको बाइडेनले बताए।

उनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवका लागि एउटा समय र स्थान हुन्छ। नयाँ अर्थात् युवा आवाजका लागि पनि एउटा समय र स्थान हुन्छ, जुन समय अहिले हो।’