बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, ०८ : ३१
बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । 

ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी हुन् । 

बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ । जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत रहेका छन् ।