उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी परेको थियो : मुकुल ढकाल

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, ०९ : ०५
उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी परेको थियो : मुकुल ढकाल

काठमाडौँ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने पैसा लिएको उजुरी पार्टीमा परेको बताएका छन्  । 

मुकुलले उपसभामुखको पत्र प्रकरणका बारेमा आफ्नो भनाइ सार्बजनिक गर्दै एक महिलाले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको र भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को देश पठाईदिने भन्दै अल्मलाएका कारण पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएको बताएका छन्  । 

मुकुल ढकालको भनाई:    

वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूँलाई पिडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो , र अमेरिका भिसा नलागेपछी कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् । 

घटनाको खबर प्राप्त गर्ने बितिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृहमन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दिपक बोहोरासम्म कुरा पुर्याए र गृहमन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोहि पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो तर अलिकति केरकार गरेपछी उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको , उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भने अनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । "नचिनेको मान्छे भन्न पाइन्छ ?" , "त्यसरी हस्ताक्षर गर्न मिल्छ ?" भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले "थाहा भएन" भन्ने सामान्य उत्तर दिनु भयो । "थाहा छैन भन्न पाइन्छ ?" भनेर मैले प्रश्न गरिरहे, तर उहाँले "थाहा छैन" को रटान लगाइरहनु भयो । त्यसपछी, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने । 

उपसभामुखको मात्र होइन, "थाहा छैन" भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता "थाहा छैन" प्रकरण थप खुल्दै जाने नै छन् किन भने , सत्यलाई केहि दिन लुकाउन सकिएला , सँधै लुकाउन सकिन्न । "थाहा छैन" भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि "थाहा अभियान" का अभियान्ता रूप चन्द्र विष्ट 'रूदाने' को गाउँ "थाहा नगरपालिका" बाट शुरू गरे । 

उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछी , इलामको उपचुनाव आयो । चुनावको नतिजापछी पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्यो । त्यसपछीका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सिमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो ।

प्रतिक्रिया दिनुहोस