प्रतिनिधिसभालाई आर्थिक विकासको केन्द्र बनाउनुपर्छ : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १६ : ५५
प्रतिनिधिसभालाई आर्थिक विकासको केन्द्र बनाउनुपर्छ : अध्यक्ष  नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साधारण खर्च धान्न पनि आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता आइपरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन संसदमा भाषण गर्दै नेपालले यसबाट विगतमा आफूहरूले गरेको शासनका विषयमा प्रश्न उठेको बताएका छन् ।

आप्रवासी कामदारले विदेशमा कठोर काम गरेर पठाएको रेमिट्यान्सबाट बढेको विदेशी मुद्राको भण्डारबाट खुसी हुन नहुने उनको भनाई छ । ‘तर अर्थतन्त्रको सूचकाङ्क विदेशी मुद्राको भण्डारणले मात्रै राम्रो देखिँदैन । विकास खर्च न्यून छ । विकास खर्चको ठुलो हिस्सा असार मसान्तमा खर्च भइरहेको छ ।’

असार मसान्तको भेलमा विकास खर्च बगाउने परिपाटी अन्त्य नगरी विकास र समृद्धि सम्भव नभएको नेपालले बताए । यस्तै जनता मूल्यवृद्धिको मारमा रहेको र गत आर्थिक वर्षमा मात्रै खाद्यान्नको मूल्य वृद्धि १६ प्रतिशत पुगेको उनको भनाई छ । मुलुकलाई छिटो विकास गर्न दोहोरो अङ्कले आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा गत आर्थिक वर्षमा ४ प्रतिशत हाराहारी मात्रै छ ।

यसबाहेक राजश्व सङ्कलन लक्ष्यको ७२ प्रतिशत मात्रै हुँदा बजेट घाटा कूल खर्चको एक तिहाइ पुगेको छ । संसद्लाई अर्थहीन वादविवादको थलोका रूपमा नभएर आर्थिक विकासको केन्द्रबिन्दुका रूपमा विकास गर्नुपर्ने नेपालले बताए । लगानी र प्रतिफलको सुनिश्चितता बिना विदेशी लगानी नभित्रने समेत उनको भनाई छ ।

‘प्रतिवर्ष ४ सयदेखि ५ सय मेगावाट नभएर प्रतिवर्ष १० हजारभन्दा बढी बिजुली उत्पादन गर्न सक्नुपर्छ,’ नेपालले भने, ‘जलविद्युत परियोजनामा लगानी आकर्षित गर्नुपर्छ । अब पनि पर्याप्त विद्युत् उत्पादन नगरेमा भविष्यमा आम्दानीको स्रोत नरहन पनि सक्छ ।’यस्तै विश्व हाइड्रोजनको प्रयोगमा जाँदै गर्दा नेपालले पनि त्यसतर्फ आफ्नो ध्यान मोड्नुपर्ने उनको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस