लोकतन्त्रका लागि मैले गोली खाएको छु : डोनाल्ड ट्रम्प

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १० : ४९
लोकतन्त्रका लागि मैले गोली खाएको छु :  डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि आफूविरुद्ध भएको घातक हमलाका विषयमा टिप्पणी गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ दाबी गरेका छन्। 

यही जुलाई १३ तारिख साँझ पेन्सिलभेनिया आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पलाई गोली हानिएको थियो। संयोगवश गोलीले उनको दाहिने कानमा चोट मात्र लागेको थियो। 

सोही घटनालाई उधृत गर्दै मिसिगनको र्‍यालीमा उनले आफूले लोकतन्त्रका खातिर गोली खाएको बताएका हुन्। 

आगामी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीका पक्षमा प्रचारप्रसार गरिरहेका ट्रम्पले आफूविरुद्ध भएको हमलापछि पहिलोपटक हिजो शुक्रबार मिसिगनमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गरेका हुन्। उनीसँगै रिपब्लिकन पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्स पनि थिए।

शुक्रबार उनले ग्रान्ड र्‍यापिड्सको खचाखच भरिएको र्‍याली स्थलमा उपस्थित मानिसहरूलाई डेमोक्र्याटहरूले आफूलाई लोकतन्त्रका लागि खतरा ठानेको आरोप लगाए। 

कार्यक्रममा सहभागीहरूको गडगडाहट तालीका बीच उनले आफू ह्वाइट हाउस फिर्ता लिन तयार रहेको बताए।गत हप्ता डोनाल्ड ट्रम्पविरुद्ध गोली प्रहार भएको घटनाको अनुसन्धान जारी छ। 

गत शनिबार, ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा कानमा पट्टी बाँधेर सहभागी भएका थिए। तर मिसिगनको र्‍यालीमा पट्टी लगाएका थिएनन्। 

प्रतिक्रिया दिनुहोस