काठमाडौँ । विशेष अदालतले ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा लागेको बताएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले भने ‘हामीकहाँ अहिले ६ महिना नाघेका मुद्दा छैनन् । विशेष अदालतलाई स्मार्ट र नमुना अदालत बनाउन खोजेका छौँ । त्यो अनुसारको काम भइरहेको छ ।’
२०८० असार मसान्तमा ३५९ वटा पुराना मुद्दा रहेको विशेष अदालतमा अहिले ६९ वटामात्रै मुद्दा छन् । विशेष अदालतले चालु आर्थिक वर्ष २०८०र८१ मा दर्ता भएका २१६ वटा मुद्दासमेत फैसला गरेर पुराना मुद्दाको सङ्ख्या उल्लेख्य रूपमा घटाएको हो ।
१८ मंसिर, २०८० देखि विशेष अदालतमा टेकनारायण कुँवरको नेतृत्वमा न्याययाधीशहरुको नयाँ टोली आएको थियो । त्यसमा न्यायाधीश डा. खुसीप्रसाद थारु भने पहिलेदेखि नै कार्यरत थिए । आफूहरूको टिम आएपछि पुराना मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ र फैसला गरेको कुँवरले बताए । उनीहरू आउँदा विशेष अदालतमा ३२८ वटा मुद्दा बाँकी थिए, जसमध्ये ७४ वटा मुद्दा त दुईवर्ष नाघेका थिए ।
विशेष अदालत ऐनमा दर्ता भएको ६ महिनाभित्र मुद्दाको फैसला गर्नुपर्ने व्यवस्था छ । तर विभिन्न कारण समयमा मुद्दाको सुनुवाइ र फैसला हुन सकेको थिएन । यसपटक भने पुराना मुद्दा समेत फर्स्योट गरी विशेष अदालतले नयाँ दर्ता भएका मुद्दासमेत उल्लेख्य रूपमा घटाएका हुन् ।
अध्यक्ष कुँवरले पत्रकार सम्मेलनमा भने, ‘हामीले ऐनमा भएको व्यवस्था लागू गर्नुपर्छ भन्ने प्रतिविद्धताका साथ काम गर्यौँ र उपलब्धि पनि हासिल गर्यौँ ।’ उनले छ महिना पुराना मुद्दालाई सकेसम्म बाँकी नराख्ने रणनीतिलाई आगामी दिनमा पनि कायम राख्ने बताए ।
विशेष अदालतले यो वर्ष लक्ष्यभन्दा बढी मुद्दा फैसला भएको जनाएको छ । मुद्दाको तुलनामा फर्स्योट भएको प्रतिशत १० वर्षयताकै बढी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । उनका अनुसार, यो वर्ष कुल मुद्दामध्ये ८८ प्रतिशत मुद्दा फैसला भएको छ । यो वर्षमा मात्रै विशेष अदालतले २ वर्ष नाघेका १९९ वटा मुद्दा फैसला गरेको छ ।
फैसला भएका ५०६ वटा मुद्दामा १५९ वटा मुद्दामा आंशिक ठहर भएका छन् । मुद्दा लागेकामध्ये सबै आरोप ठहर नभएका मुद्दालाई विशेष अदालतले आंशिक ठहर भन्ने गरेको छ । सबै आरोपितहरू दोषी ठहर भएका मुद्दा १०४ वटामात्रै छन् भने २४३ वटा मुद्दामा कुनै पनि आरोपितहरू दोषी ठहर भएनन् । विशेष अदालतमा पेश भएकामध्ये ४८ प्रतिशत मुद्दामा मात्रै आरोपितहरू दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष कुँवरले फैसला भएकामध्ये करिब ३ सय मुद्दामा पूर्णपाठ लेख्न बाँकी रहेको बताए । विशेष अदालतले अब तीन साता फैसला लेखनलाई तीव्रता दिने भएको छ । आगामी दशैं बिदा अघिसम्म अहिले फैसला भएका मुद्दाको पूर्णपाठ तयार गर्ने योजना रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ असार २०८१, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर
नापी कार्यालयका सर्वेक्षक तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विकल पौडेल दोस्रो पटक भ्रष्टाचार मुद्दामा दोषी ठहर
रामेछापको लिखु तामाकोशीका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद र २ करोड जरिवाना
गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सिंह दोषी ठहर