महासङ्घ अध्यक्ष ढकालको आग्रह– सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखौँ

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १० : ३९
महासङ्घ अध्यक्ष ढकालको आग्रह– सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखौँ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेको बताएका छन् ।शनिवार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ढकालले संसारमा द्रूततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट अन्य राष्ट्रले यथेष्ट लाभ लिइरहेको दृष्टान्त दिँदै नेपालले पनि यसको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।

युवा जनसङ्ख्या धेरै भएको नेपालमा अहिले ठूलो सङ्ख्याका युवा सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास गर्नुपर्नेका ढकालले जोड दिए । यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उनको तर्क थियो ।

विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्षहरूमा सूचना प्रविधिका क्षेत्रमा द्रूत विकास भइरहेको छ,’ उनले भने, ‘नेपालको युवा वर्ग पनि अहिले ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेको छ । यस्तोमा देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ ।’

 

 

 

 

 

 

 

सरकारले आगामी बजेटमार्फत् आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक वर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको छ । यस प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ढकालले यसै बमोजिमको लगानीको वातावरण राज्यले निर्माण गर्नैपर्नेमा जोड दिए ।

सूचना प्रविधि अहिलेको समाजको जीवन पद्धति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अङ्गीकार गरिरहेको र नेपाल पनि यसबाट अछुतो नरहेको उनले उल्लेख गरे ।

‘नेपालमा पनि मेडिकल, इञ्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ,’ उनले थपे । 

ढकालले नेपालमा सूचना प्रविधिको सम्भावना अनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गरे । साथै उनले यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह पनि गरे ।    

 नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेको जानकारी दिँदै उनले राज्यले उचित नीति अख्तियार र लगानीको सहज वातावरणको सुनिश्चितता गरेमा योभन्दा कैयौँ गुणा बढी कम्पनी केही समयमै स्थापना भई सञ्चालनमा आउने दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस