प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि, शपथ सोमबार बिहान ११ बजे

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १० : ३२
प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि, शपथ सोमबार बिहान ११ बजे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्।

शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवास स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएको छ ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले दाबी पेस गरेका थिए।

राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएका छन् ।

राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले प्रधानमन्त्रीको नियुक्ति दाबी पेस गर्न दिइएको समय सीमा सकिएपछि हुने र नियुक्तिपछि शपथ तय हुने जानकारी रातोपाटीलाई दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।

प्रतिक्रिया दिनुहोस