प्रधानमन्त्रीमा दाबी पेस गर्दा ओलीले समेटेनन् साना दल

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, ०६ : २९
प्रधानमन्त्रीमा दाबी पेस गर्दा ओलीले समेटेनन् साना दल

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई वेवास्ता गरेका छन् । उनले आफ्नो पार्टी एमाले र कांग्रेसका सांसदमात्रैको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेका हुन् । 

जसअनुसार  ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थनमा उनले संविधानको धारा ७६को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाउँदै आग्रह गरेका छ्न । 

ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रहसहित कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर दाबी निवेदन पेस गरेका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका ओली र कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले हस्ताक्षर गरेको निवेदनपत्रमा १६६ सांसदको समर्थन रहेकाले प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गरिदिन आग्रह गरिएको छ ।

पत्रमा कांग्रेसका ८८ र एमालेका ७८ सांसद भएकाले संविधानको धारा ७६को उपधारा २ अनुसार आफूहरुको बहुमत पुग्ने उल्लेख गरिउको छ । 

पत्रमा भनिएको छ, सम्माननीय राष्ट्रपतिज्यूबाट मिति २०८१।०३।२८ गतेका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नको लागि दाबी पेश गर्न आह्वान भएकोमा सो समय सिमा भित्रै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने निम्न दलहरुको समर्थनमा प्रतिनिधि सभामा स्पष्ट बहुमत सहित नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरुको समर्थन भएको व्यहोरा अनुरोध गर्दछौं । हामी हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिनु हुन अनुरोध गर्दछौं ।

प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएसँगै राष्ट्रपतिले शुक्रबार नै नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै कांग्रेस र एमालेबाट दावी पेस भएको हो । अब राष्ट्रपति आवश्यक प्रक्रिया पूरा गरेर ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस