अझै भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, १६ : ४२
अझै भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

चितवन। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार ‍खोजीकार्य जारी छ ।बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ । सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उनले बताए । बगाएर तल पुर्‍याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए ।

सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको उनले बताए । र्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ । त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ ।

पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । दुवै बसका गरी ६२ यात्रु बेपत्ता भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस