अरनिको र बीपी राजमार्गमा नियमित यातायात सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, १३ : ०२
अरनिको र बीपी राजमार्गमा नियमित यातायात सञ्चालन

काठमाडौँ। काभ्रेपलाञ्चोक– जिल्लास्थित विभिन्न स्थानमा पहिरा खस्दा अवरुद्ध बनेका अरनिको र बिपी राजमार्गमा शुक्रवारदेखि नियमित यातायात सञ्चालन भएका छन् । निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डमा पहिरो खसेर दुई दिनदेखि सडक अवरुद्ध बनेको थियो ।

धुलिखेल–खावा खण्डमा पहिरो खस्नुका साथै वर्षाका कारण लेदोमा गाडी फसेका थिए । खावानजिक खसेको पहिरो पन्छाइ फसेका गाडी निकालेर हिजो खाल्डाखुल्डीमा ग्राभेलले पुरेसँगै शुक्रवार बिहानदेखि नियमित यातायात सञ्चालन भइरहेका छन् ।

शुक्रवार बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्गको रोशी–मङ्गलटार खण्डको पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याइएको हो । निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डको यात्रा कष्टपूर्ण बनेको स्थानीय बताउँछन् । रोशी गाउँपालिकास्थित माम्ती खोलाको बाढीले राजमार्ग अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

अरनिको र बीपी राजमार्गका विभिन्न स्थानमा अहिले पनि स–साना पहिरो जानसक्ने देखिएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । निर्माणाधीन अरनिको राजमार्गको उक्त सडकखण्डलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बुधवारदेखि मालवाहक यातायातका साधन तथा टिपरलाई अनिश्चितकालीन सञ्चालनमा रोक लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस