दोहोरो पासपोर्ट र सहकारी ठगीमा रविमाथि उच्चस्तरीय छानबिन हुनुपर्छः मुकुल ढकाल

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १६ : ००
दोहोरो पासपोर्ट र सहकारी ठगीमा रविमाथि उच्चस्तरीय छानबिन हुनुपर्छः मुकुल ढकाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले दोहोरो पासपोर्ट र सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताएका छन् । 

सर्वोच्च अदालतले 'छानबिन गर्नू' भनिसकेको अवस्थामा रास्वपाले पनि उनीमाथि छानबिन गर्नुपर्ने ढकालको भनाइ थियो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिइसकेको अवस्थामा संसदीय छानबिन समितिले मात्र नपुग्ने बताएका हुन् ।

‘हिजोको दिनसम्म केही जाहेरी/उजुरी परेको छैन भन्ने स्वीकार गरेका थियौं । सर्वोच्चले नै छानबिन गर्न भनेपछि पार्टी भित्रबाट पनि छानबिन गर्ने कि नगर्ने ? फैसलाअनुसार पार्टी भित्रबाट छानबिन गर्नुपर्छ,’ ढकालले भने, ‘दोहोरो पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन गर्नुपर्छ ।

यसका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्छ ।’रवि लामिछानेको दोहोरो पासपोर्ट सम्बन्धमा महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गराएका थिए । सोविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

महामन्त्री ढकालले देउवाको सरकार बन्ने आशमा लामिछानेले सरकार नछाडेको आरोप लगाएका हुन् । ‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ, देउवाको सरकार बन्ला र टाँसिन पाइएला कि भनेर सरकार छाड्नु भएको छैन । प्रचण्डको शैली मन पर्नेलाई मुकुलको नपर्न सक्छ,’ ढकालले भने । 

 

 

 

 

 

 

 

उनले रास्वपा पार्टीभन्दा रवि लामिछाने क्लबमा परिणत भएको बताएका हुन् । ‘पार्टीलाई क्लब र रवि लामिछाने क्लबमा हाइज्याक भएको छ । रवि लामिछाने क्लबबाट निस्कासन भएको हुँ, कानूनी रूपमा पार्टी महामन्त्री म नै छु,’ ढकालले भने ।

प्रतिक्रिया दिनुहोस