मधेस प्रदेश : माओवादी संसदीय दलको नेता हटाउन प्रस्ताव दर्ता

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १४ : ३८
मधेस प्रदेश : माओवादी संसदीय दलको नेता हटाउन प्रस्ताव दर्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बहुमत सांसदले मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

माओवादी केन्द्रका नौ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी सो प्रस्ताव दर्ता गराएका हुन् । यसरी प्रस्ताव दर्ता गराउनेमा संसदीय प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरु जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारी रहेका छन् ।

प्रदेश सभा सदस्य रहबर अन्सारीले आफूहरूले सोमवार नै उपनेतालाई सो प्रस्ताव बुझाइसकेको र उनले प्रमुख सचेतकलाई आवश्यक कार्यवाही अगाडि बढाउन भनिसकेको बताए ।

दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा प्रस्ताव दर्ता गराउन सकिने संसदीय दलको विधानमा उल्लेख छ । सोही अनुसार प्रक्रिया अगाडि बढेको बताइएको छ । उपनेता समिर भट्टराईले १५ दिनभित्र बैठक बोलाउन निर्देशन समेत दिइसकेका छन् ।

असन्तुष्ट पक्षले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् । हस्ताक्षरकर्तामध्येका एक जना सांसदका अनुसार नेता साहले सुरुदेखि नै पार्टीभित्र गुटबन्दी गरेको र अर्थमन्त्री भएपछि व्यापक अनियमितता गरेको आरोप लगाइएको छ । बजेट निर्माण गर्दासमेत पार्टीका कुनै पनि सांसद कुरा नसुनेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस