गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम ३० महिनामा सक्ने ठेक्का सम्झौता

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, ११ : १४
गौतम बुद्ध अन्तर्राष्ट्रिय  क्रिकेट रंगशाला निर्माणको काम  ३० महिनामा सक्ने ठेक्का सम्झौता

चितवन । ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।

भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ ।

निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएअनुसार रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाउनुपर्ने छ ।

महानगरपालिकाका बरिष्ठ इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका काम सम्झौता भएको कम्पनीले गर्नेछ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । तिकाम सक्ननिर्माणको लागत भ्याट र पीएससहित७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार महानगरपालिकाले निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेशन पेश्कीका रुपमा आज ६ करोड ८० लाख रकम दिने तयारी गरेको छ । निर्माण कम्पनीले पेश गरेको कार्यतालिकाका आधारमा धमाधम निर्माणको काम हुने विश्वास महानगरले लिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।

पहिला ड्रेन मैदान प्याराफिट लगायतका काम हुने उनले बताए । महानगरले रंगशाला निर्माणलाई अति नै प्राथमिकतामा राखेको भन्दै उपनिर्देशक अर्यालले तोकेको अवधिभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिने बताए ।

उनका अनुसार बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ । 'महानगरपालिकाले रंगशाला निर्माणमा बजेटको कमी हुन दिँदैन,’ उनले भने, ‘महानगरपालिकाले गर्नुपर्ने काम सबै गर्न तयार रहेको जानकारी निर्माण कम्पनीलाई दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस