वर्षाले कहाँ–कहाँका सडक अवरुद्ध ? (सूचीसहित)

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १५ : ३५
वर्षाले कहाँ–कहाँका सडक अवरुद्ध ? (सूचीसहित)

काठमाण्डौं । वर्षाका कारण देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु रोकिएका छन् । त्यस्तै पाल्पाको शेरामा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग र सल्यानको कपुरकोटमा पहिरो जाँदा राप्ती राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन हुन सकेको छैन।

मनाङको चामे बेसीसहर सडक पूर्ण रुपमा अवरोध, म्याग्दीको बेनी दरवांग सडकखण्ड, बेनी जोमसोम सडक, पर्वर्तको मालढुंगा बेनी सडक पूर्ण रुपमा अवरुद्ध छन् । त्यसैगरी लमजुंगको डुम्रे बेशीशहर, बेशीसहर मनांग सडक पूर्णरुपमा अवरुद्ध छन् ।

पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक शनिबार बिहानैदेखि अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। यसअघि पनि पहिरो जाँदा १८ घन्टा अवरुद्ध भएको थियो। पहिरो पन्छाएर शुक्रबार साँझ मात्रै सञ्चालनमा आएको सडक फेरि अवरुद्ध भएको हो।

त्यस्तै, मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग एक सातादेखि अवरुद्ध छन्। बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएकाले यातायात अवरुद्ध रहेको सडक विभागले जनाएको छ। विभागका अनुसार आज बिहानदेखि मात्रै पाँच वटा राजमार्ग अवरुद्ध छन्। धैरेनीमा सडक अवरुद्ध हुँदा मेची राजमार्ग,प्यूठानको सिमलचौरमा सडक अवरुद्ध हुँदा भालुवाङ-लिवाङ-रोल्पा सडक, म्याग्दीको तातोपानीमा सडक अवरुद्ध हुँदा तानसेन-रिडी-कोरला राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।

सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ। केही स्थानमा छिट्टै एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ भने केही स्थानमा समय लाग्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस