दोलखामा बाढीमा परेर एक महिला बेपत्ता, माथिल्लो तामाकोशीको उत्पादन बन्द

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १२ : १७
दोलखामा बाढीमा परेर एक महिला बेपत्ता, माथिल्लो तामाकोशीको उत्पादन बन्द

काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिका ९ गोगाङस्थित रोल्वालिङ खोलामा आएको बाढीमा परेर एक होटल व्यवसायी महिला बेपत्ता भएकी छन् । शुक्रबार राति र शनिबार बिहान परेको अविरल बर्षापछि आएको बाढीमा परेर ६४ वर्षीय जाङमु शेर्पा बेपत्ता भएकी हुन् । बाढीले ३ वटा होटल समेत बगाएको छ ।

बेपत्ता भएकी शेर्पाको खोजी कार्य जारी रहेको दोलखाका पत्रकार दिलबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार बाढीले छ्योतछ्योत–सिमीगाउँ–च्छो रोल्पा पदमार्गमा रहेका घर र होटल पुरेको हो । बेलुकादेखि परेको अविरल वर्षाका कारण अहिले पदमार्ग समेत बन्द भएको छ ।

तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द

अविरल वर्षापछि तामाकोशी नदीको जलसतह बढ्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन समेत बन्द गरिएको छ । पानीको जलसतह २५० घनमिटरभन्दा माथि पुगेपछि उत्पादन बन्द गरिएको भन्ने सूचना प्राप्त भएको पत्रकार केसीले जानकारी दिए । शुक्रबार राति भने आयोजनाको जलसतह २८५ घनमिटरसम्म  पुगेको उनले बताए ।

अहिले भने जलसतह घटेर २५० कै हाराहारीमा आएको उनको भनाई छ । अविरल वर्षा जारी रहेकोले तत्काल जलसतह नघट्ने संकेत देखिएको उनको भनाई छ । जलसतह घट्दै गएमा उत्पादन सुरु गर्न सकिने आयोजनाका कर्मचारीहरुको भनाई उदृत गर्दै केसीले बताए ।

त्यस्तै तामाकोशी नदीले अहिले गोंगरदेखि तल्लो क्षेत्रमा कटान तीव्र पारेको छ ।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ । 

प्रतिक्रिया दिनुहोस