लुम्बिनीका प्रदेश प्रमुखलाई एमालेले लेख्यो पत्र

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, १३ : ३६
लुम्बिनीका प्रदेश प्रमुखलाई एमालेले लेख्यो पत्र

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि त्यसको औपचारिक जानकारी गराउँदै नेकपा एमाले लुम्बिनी  प्रदेश प्रमुखलाई अमिक शेरचनलाई जानकारी पत्र प्रदान गरेको छ ।

एमाले मुख्य  सचेतक तुलसीप्रसाद चौधरीले लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर जानकारी पत्र प्रदान गरेको बताए ।चौधरीले  जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै पत्र दिएका थिए ।

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले उक्त जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरूप आवश्यक कागजात तयार पारिने बताए ।प्रदेश प्रमुख शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौँमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी  दिए ।

एमालेले हिजो असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरूप मन्त्रीहरू  चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री र अर्जुन केसीले बिहीबार बेलुका राजीनामा दिएका थिए । 

प्रतिक्रिया दिनुहोस