शाहबाज सरिफ र पुटिनबिच भेटघाट

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८१, १४ : ०८
शाहबाज सरिफ र पुटिनबिच भेटघाट

अस्ताना । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा पुगेका थिए । सोही क्रममा दुईबीच भेटघाट भएको हो ।

‘मेरो अनुरोधमा धेरै क्षेत्रमा सहयोग गर्न तपाईं तयार हुनुभयो । हामीले तेल क्षेत्रमा सहयोग बढायौँ, तपाईंले हामीलाई तेल पठाउनुभयो । हामी त्यसका लागि आभारी छौँ,’ उक्त भेटमा शाहबाज सरिफले पुटिनलाई भनेका थिए ।

दुई देशबिचको सम्बन्धले अरू कुनै देशसँगको सम्बन्धलाई असर नगर्ने पनि उनले बताए । ‘पाकिस्तानसँग तपाईंको देशको पुरानो व्यापारिक सम्बन्ध छ । आपसी व्यापारलाई अगाडि बढाउन, नवीकरण गर्न यो सही समय हो । यो पाकिस्तानका लागि पनि फाइदाजनक हुनेछ । यसले हामी कयौँ समस्याबाट उब्रिन सक्नेछौँ,’ उनले भने थिए ।

भेटमा पारस्परिक हितका धेरै क्षेत्रमा द्विपक्षीय सहयोग बारेमा कुरा गरेको भेटपछि शाहबाज सरिफले इन्स्टाग्राममा एउटा पोस्टमा लेखेका छन् । आफूहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस