देवघाट । देवघाट तनहुँको देवघाट गाउँपालिका र नवलपुरको गैंडाकोट नगरपालिका र चितवनको भरतपुर महानगरपालिकाको संगमस्थलमा रहेको पवित्र तीर्थस्थल हो ।
भनिन्छ, समस्त हिन्दू धर्मावलम्वीहरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरुको महत्वपूर्ण तीर्थस्थलका प्रयागहरुमध्ये आदिप्रयाग देवघाटधाम हो । यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिरहरू र चक्रवर्ततिशीला होसिद्धबाबा गलेश्वर ब्रह्मचारिद्वारा स्थापित आश्रम र वेदवेदांग विद्यालय हो । महेश आश्रम, हरिहर आश्रमसमेत रहेको पून्यभूमि पनि हो देवघाटधाम ।
देवघाटधाम पुग्ने कसरी ?
पूर्वपश्चिम राजमार्गको मध्येभागमा रहेको भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढको पुल्चोकबाट देवघाटधाम ५ किलोमिटर छ । नेपालको पूर्वदेखि पश्चिमका जिल्लाबाट जोकोही पनि नारायणगढ बजार आएर साना सवारी साधन चढी देवघाट पुग्न सकिन्छ ।
नारायणगढबाट १५ रुपैयाँ भाडा तिरे साना सवारी साधनले देवघाटधाम पु¥याइदिन्छन् । देवघाट छिर्ने मुलद्वारलाई आँपटारी भनिन्छ । आँपटारीको आकर्षक गेट पार गर्दै तीन किलोमिटरको सुन्दर जंगल छिचोलेपछि देवघाटधाम पुगिन्छ । जंगलमा विभिन्न चराचुरुङीको आवाजले मनलाई आनन्दित बनाउँछ ।
काठमाडौँ, पोखरा हुँदै आउने भक्तजनहरु इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रामनगर बजार आएर देवघाट पुग्न सक्छन् । रामनगरबाट देवघाट छिर्ने भक्तजनहरु नारायणगढ नआई रामनगर ठिमुरा सडक हुँदै देवघाट पुगिन्छ । रामनगरबाट साना सवारी साधन चढेर ५ किलोमिटर छिचोलेपछि देवघाटधाम आइन्छ । तनहँ जिल्लातर्फ देवघाट गाउँपालिका हुँदै देवघाटधाम आउन सकिन्छ ।
कुन दिन लाग्छ भक्तजनको घुइँचो ?
देवघाटमा सबैभन्दा बढी माघे संक्रान्ती, साउने संक्रान्तीमा बढी भक्तजनको भीड लाग्छ । माघे संक्रातिको दिन देवघाटधाममा नुहाउनेको घुइँचो लाग्छ । साउन महिनाभरि देवघाटमा भक्तजन आउने गरेका छन् ।
नयाँ वर्षमा पनि देवघाट घुम्नको लागि भक्तजनहरु आउन थालेका छन् । पछिल्लो सयम देवघाटमा मेला पर्व र महोत्सव भएको बेला भक्तजनहरुको ओइरो लाग्छ । नारायणी र काली गण्डकी नदीहरूको मनोरम प्राकृतिक जलधारा र कन्चन जल देवघाटको पर्यटकका आकर्षण हुन ।
मुहार फेर्दै देवघाट, केके हुँदैछ ?
पवित्र तीर्थस्थल देवघाटको विकासमा गैंडाकोट नगरपालिका, देवघाट गाउँपालिका र भरतपुर महानगरपालिका लागिपरेका छन् । देवघाट क्षेत्र विकास समितिले देवघाटको विकासमा संयोजनकारी भुमिका निभाइरहेको छ ।
देवघाट शव दाहसंस्कार गर्ने स्थल पनि हो । देवघाटमा विद्युतीय शव दाहस्थलको प्रक्रिया अघि बढाइएको छ । दैनिक १० वटा शव अहिले दाउराबाट जलिरहेका छन् । दाउराबाट शव जल्दा वातावरण प्रदुषण र वनको विनास हुने भएकाले देवघाटमा शव दाहसंस्कारको अवधारणा ल्याइ प्रक्रिया अघि बढाइएको देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो ।
भरतपुर महानगरपालिकाले शव दाहस्थल निर्माणको लागि गत वर्ष नै २० लाख रुपैया बजेट स्वीकृत गरेको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शव दाहस्थल निर्माणको लागि भरतपुर महानगरले छिटै थप रकम निकासा गर्नेछ ।’
देवघाटमा चार कट्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउन लागिएको हो । ल्याण्ड सर्भेको काम सकिएको देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष पौडेलले बताउनुभयो । विद्युतीय शवदाह गृह बनाउनको लागि सहरी विकास मन्त्रालयले पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पशुपति क्षेत्र विकास कोषले काठमाडौँको पशुपतिमा विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएपछि देवघाट क्षेत्र विकास समितिले पनि देवघाटमा विद्युतीय शवदाह गृह बनाउन चासो दिएर कार्ययोजनासमेत अघि सारेको हो । शवदाह गृह निर्माणको लागि दाहसंस्कार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
देवघाटमा दाउराबाट एउटा दाहसंस्कार कार्य सम्पन्न गर्न ३ हजारभन्दा बढी लाग्छ । तर, विद्युतीय चितामा दाहसंस्कार गर्दा ७५ प्रतिशत खर्च कम हुने निवर्तमान अध्यक्ष पौडेलले बताउनुभयो ।
पर्यटकीय पदमार्ग निर्माण
गैँडाकोटको मौलाकालिका मन्दिरदेखि देवघाटको वेणीसंगम (तनहँु, चितवन र नवलपुरको संगम) सम्म पर्यटकीय पदमार्ग निर्माणको काम धमाधम भइरहेको छ । यो मार्ग निर्माणपछि मौलाकालिका पुगेका भक्तजन सीधा देवघाट र देवघाट आएका भक्तजन सीधा मौलाकालिका पुग्न सक्नेछन् ।
‘पर्यटकीय पदमार्गको ६५ प्रतिशत काम सकिएको छ’, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । उहाँले २०७३ असोजबाट पदमार्ग निर्माणको काम सुरू भएको र अहिलेसम्म झन्डै ७० प्रतिशत काम पूरा भएको बताउनुभयो ।
मौलाकालिका मन्दिरको फेदीबाट सिँढी बनाउने काम भइरहेको छ । अध्यक्ष पौडेलले बाँकी ३० प्रतिशत काम यही वर्षभित्र पूरा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो मार्ग सिँढी मार्ग नै हो, मौलाकालिकादेखि देवघाटको वेणीसंगमसम्म नै ढुंगाको सिँढी हुनेछ ।’ उहाँले पर्यटकीय मार्गमा आवश्यक भएको ठाउँमा रेलिङसमेत राखिने बताउनुभयो ।
मौलाकालिका–वेणीसंगम धार्मिक पर्यटकीय पदमार्गका लागि पर्यटन तथा संस्कृति मन्त्रालयले १५ लाख रूपैयाँ विनियोजन गरेको थियो । यस्तै, पर्यटन कार्यालय पोखराले सोही पदमार्ग निर्माणका लागि १० लाख रूपैयाँ उपलब्ध गराएको थियो ।
देवघाट क्षेत्र विकास समितिले पदमार्ग निर्माणका लागि ४ लाख रूपैयाँ खर्च गरेको थियो । यसैगरी, पर्यटन कार्यालय भैरहवाले समेत पहिलो चरणमा १८ लाख र दोस्रो चरणमा ४ लाख रूपैयाँ उपलब्ध गराएको थियो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अनुसार मौलाकालिका मन्दिरबाट देवघाटको वेणीसंगमसम्म आउन ५ किलोमिटरको दूरी पर्छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव सुरेन्द्र रेग्मीले पदमार्गमा सिँढी निर्माणको काम तीव्ररुपमा भइरहेको बताउनुभयो । ।
मौलाकालिका–वेणीसंगम धार्मिक पर्यटकीय पदमार्ग निर्माणका लागि हालसम्म ३८ लाखको काम सम्पन्न भइसकेको छ । पदमार्गको सम्पूर्ण काम सकिँदा झन्डै एक करोड लाग्ने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ । योजना सम्पन्न गरिसक्दा १ करोड लाग्ने अनुमान गरिएको छ ।
धमाधम धार्मिक मार्ग
आँपटारी–देवघाट–ठिमुरा–रामनगर सडकलाई धार्मिक मार्ग बनाइने भएको छ । धार्मिक मार्गको सम्पूर्ण काम तीन वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । देवघाट क्षेत्र विकास समितिले सो सडकलाई दुई लेनको धार्मिक मार्गको रुपमा विस्तार गर्ने जनाएको छ ।
‘देवघाट क्षेत्रको विकास गर्न सबैभन्दा पहिला सडक फराकिलो र पक्की चाहिने भएका हुनाले आँपटारी–देवघाट–ठिमुरा–रामनगर–सडकलाई धार्मिक मार्ग घोषणा गरी विस्तारको प्रक्रिया अघि बढाएका छौँ’ देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष पौडेलले भन्नुभयो । भौतिक पूर्वाधार मन्त्रालयले आँपटारी–देवघाट–ठिमुरा–रामनगर सडकको सर्भेको काम सम्पन्न गरिसकेको छ ।
आँपटारी देवघाट सडक विस्तारको काम ४० प्रतिशत सकिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । आँपटारी–देवघाट सडकमा पर्ने ढ्याग्रे खोलाको रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले आँपटारी–देवघाट सडकमा रहेको ढ्याग्रे खोलाको रिटेनिङ वाल निर्माणको लागि ५० लाख रुपैयाँ बजेट निकासा गरेको छ ।
आँपटारी–देवघाट–ठिमुरा–रामनगर धार्मिक मार्ग पूर्णरुपमा विस्तार भए पोखरा, काठमाडौँलगायतका ठाउँबाट देवघाट दर्शन गर्न आउनेलाई सहज हुनेछ । भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष जयदेव श्रेष्ठले धार्मिक मार्गको लागि यसअघि नै १० लाख रुपैयाँ बजेट पारेको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठका अनुसार अब फेरि धार्मिक मार्गको लागि १२ लाख बजेट पार्ने छौँ ।
३ नं प्रदेश सरकारबाट रामनगर ठिमुरा सडकमा ५० लाख बजेट पारिएको थियो । धार्मिक मार्गको सडक निर्माणपछि देवघाटमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाटमा वार्षिक झन्डै ११ लाख भक्तजनहरु आउने गरेका छन् ।
देवघाटमा बाँदर पार्क बनाइने
धार्मिक स्थल देवघाटधामको बाँदर आतंकले त्यहाँ बस्ने र घुम्न आउनेहरु हैरान भएका छन् । स्थानीयका अनुसार विसं. २०६३ सालयता बाँदरहरुले देवघाटमा दुःख दिन थालेको हो । यो दुःख निवारणका लागि स्थानीयले धेरै हारगुहार नै गरे । समस्या निराकरण भएको छैन ।
धेरैलाई पिरलो बनाएको यो समस्याबाट मुक्ति दिन देवघाट क्षेत्र विकास समितिले नौलो अवधारणा ल्याएको छ । समितिले देवघाटमा ‘बाँदरमैत्री पार्क’ बनाउने भएको छ । खाना र बासस्थानको राम्रो प्रबन्धसहितको पार्क बनेमा बाँदर भौँतारिँदै घरघर नचाहर्ने निष्कर्षका साथ यो काम थालिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
इन्डोनेशियाको बाली सहर घुम्दा त्यहाँ रहेको बाँदरको जंगल (मंकी फरेष्ट) देखेपछि नारायणगढ निवासी साहित्यकार तथा व्यवसायी रामहरि श्रेष्ठले ‘बाँदरमैत्री पार्क’को अवधारणा ल्याएका हुन् । पार्कका विषयमा जीवशास्त्री तथा वनस्पति शास्त्रीहरु पनि सकारात्मक देखिएका छन् ।
‘हामीले चिडियाखानामा जस्तो बाँदरलाई थुनेर राख्न लागेको होइन । उनीहरुलाई बाँच्न आवश्यक पर्ने खाना निश्चित ठाउँमा पर्याप्त मात्रामा राख्ने र उनीहरुलाई जिस्काउने, हैरान नपार्ने व्यवस्था गरेर क्षेत्र छुट्याउन लागेको हो’ पार्कका अवधारणकर्ता रामहरि श्रेष्ठले बताउनुभयो ।
वनस्पतिहरु प्रशस्त भएको ठाउँ हो । यस्तो ठाउँमा बाँदर रमाउँछ । यसका साथै खानेकुराहरु प्रशस्त मात्रामा राख्ने गरेपछि त्यही नै आएर खाने र बस्ने गर्छ । अन्यत्र भाँैतारिँदै हिँड्ने समस्या रहँदैन ।
बालीमा भएको यस्तै पार्कमा बाँदरहरु मज्जाले खाएर जंगलमै बसेका छन् । उनीहरुलाई हेर्न आउने पर्यटकले नेपाली मूल्य तीन सय रूपैयाँ पर्ने टिकट काट्ने गरेका छन् । बालीमा १० हेक्टर जंगलमा हजार बाँदर बस्ने गरेको छ । देवघाटको जंगल त्योभन्दा धेरै ठूलो भएकाले यहाँ पनि त्यस्तै पार्क बनाउन सकिने हुनाले यस प्रक्रियालाई अघि बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०७५, १५ : ३८
लेखकबाट थप