-सराेजराज अधिकारी
निर्मला बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । आशंका गरिएका यी तीनैजनाको डिएनए निर्मलाको ‘भेजिनल स्वाब’सँग मेल नखाएपछि सार्वजनिक टिप्पणी हुन थालेको छ, के यो प्रकरण ‘नो वान रेप्ड एन्ड किल्ड निर्मला’मा गएर टुंगिन लागेको हो त ?
उता अमेरिकी महादेशको भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले पनि भनिदिए, ‘कतिपय आपराधिक घटनाका दोषी १२ वर्षपछि पनि पक्राउ परेका छन्, निर्मलाको घटनाको अनुसन्धानमा पनि १२ वर्ष लाग्न सक्छ ।’
यतिखेर घटनामा संलग्नताको अभियोगमा केरकार गर्नका लागि प्रहरी प्रशासनसँग कुनै अभियुक्त छैन । अभियुक्त खोज्न कुनै प्रमाण छैन । र जे–जति थोरै प्रमाण छन्, तिनको वैधतामाथि नै प्रश्नचिह्न खडा भएको छ । के त्यसो भए अब यो प्रकरण यत्तिकैमा सकियो त ? अनुसन्धानका सबै बाटा बन्द भए त ? पीडित र सरोकारवाला सबैको मनमा चिसो पसेको छ । तर, अझै पनि नयाँ शिराबाट अनुसन्धान गर्ने हो भने ‘निर्मलाका निम्ति न्याय’ असम्भव छैन । यस प्रकरणमा यस्ता धेरै सुत्र छन्, जसको प्रयोगबाट वास्तविक अपराधीसम्म पुग्न सकिन्छ ।
भेजिनल स्वाबको वैद्यतामाथिको प्रश्न निरुपण
पछिल्लो समय निर्मलाको योनीमा भेटिएको भेजिनल स्वाबको वैद्यतामाथि नै प्रश्नचिह्न उठेको छ। निर्मलाको शवको पोस्टमार्टम रिर्पोटअनुसार पाठेघरको मुख, बीच र योनीको बाहिरी भागबाट भेजिनल स्वाब लिइएको छ । तर घटनास्थलका भिडियो फुटेज हेर्ने हो भने निर्मलाको यौनाङ्ग छ्याप–छ्याप पानी फ्याँकेर पखालिएको देखिन्छ ।
त्यसमाथि अघिल्लो रातभर दर्केर पानी परेको अवस्था छ । यस्तो अवस्थामा बाहिरी भागको भेजिनल स्वाब संकलन गर्नु कत्तिको सजिलो वा संभव कुरा हो ? भित्रि भागको कुरा अलग हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक साइन्स डिपार्टमेन्टका चिकित्सक डा गोपाल चौधरीका अनुसार यस्तो अवस्थामा बाहिरी भागको भेजिनल स्वाबको नमूनाबाट वास्तविक परीक्षण हुन सक्दैन । डा ल्हामो शेर्पाका अनुसार त पोस्टमार्टम गरिएको समय नै गलत छ । खासगरी दिनको उज्यालोमा मात्र पोस्टमार्टम गरिनुपर्नेमा साँझ ५.३० को समयमा गरिएको छ ।
अर्कोतर्फ पोस्टमार्टम प्रतिवेदनमाथि नै पनि शंका गरिएको छ । प्रहरी प्रधान कार्यालयमा ब्रिफिङ गर्ने क्रममा त्रिवि शिक्षण अस्पतालका फरेन्सिक साइन्समा कहलिएका विज्ञले पोस्टमार्टम गर्ने तरिका नै नमिलेको बताएका थिए । ‘एक दिन राखेको भए हामी आफै गएर पोस्टमार्टम गरिदिन्थ्यौ, शव यही झिकाएर पनि पोस्टमार्टम गर्न सकिन्थ्यो,’ ती चिकित्सकको भनाई थियो ।
अर्कोतर्फ, निर्मलाको भेजिनल स्वाबको परीक्षण प्रहरीले आफ्नो प्रयोगशालामा मात्र गरेको छ । पछिल्ला तीन र यसअघि प्रहरीले जबरजस्ती अपराधी बनाउन खोजेको दिलिपसिंह विष्टको डीएनए परीक्षण भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको हो । प्रहरीले राष्ट्रिय प्रयोगशालाबाट आएको डिएनए रिपोर्टहरू निर्मलाको भेजिनल स्वाबसँग मेल नखाएको बताउँदै आएको छ ।
निर्मलाको भेजिनल स्वाब राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नपु¥याइएकाले उसले आफूले परीक्षण गरेको डीएनएसँग त्यो मेल खाने वा नखानेबारे बताउन सकेको छैन । प्रयोगशालाको निश्पक्षताकै लागि सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको निर्माण गरेको हो, जुन अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत छ । प्रहरीको प्रभावमुक्त होस् भनेर यसो गरिएको हो ।
तर यतिखेर दोहोर्याएर पोस्टमार्टम गर्नसक्ने संभावना सकिएको छ । किनकि, निर्मलाको शवको दाहसंस्कार गरिसकिएको छ । अनुसन्धानका लागि केही नमूना संकलन गर्न सकिने संभावना भएको उनका लुगाहरू पनि प्रहरीले जलाईसकेको छ । यद्यपि अझै पनि गर्न सकिने दुई वटा विधी भने बाँकी नै छ ।
पहिलो, निर्मलाको भनिएको भेजिनल स्वाबको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पुनःपरीक्षणगर्ने र शंकास्पद भनिएका व्यक्तिको उक्त प्रयोगशालाले गरेको डीएनएसँग भिडाएर हेर्ने । शिक्षण अस्पतालका डा चौधरीका अनुसार निर्मलाको भेजिनल स्वाबको नमूना प्रहरीको प्रयोगशालामा सुरक्षित छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट त्यसको पुनःपरीक्षण हुनसक्छ । सुरक्षित छैन भने कुरा स्पष्ट छ, निलम्बित एसपी विष्टमात्र होइन सिंगो प्रहरी संयन्त्र प्रमाण मेट्न लागि परेको छ ।
निर्मलाको भेजिनल स्वाबको नमूना प्रहरीको प्रयोगशालाबाट नष्ट गरिएको छ भने पनिदोस्रो उपाय बाँकी छ । त्यो भनेकोपोस्टमार्टम र परीक्षणमा संलग्न चिकित्सकको बयान लिने । पोस्टमार्टममा डा हरिकिशोर श्रेष्ठ, डा एमएन अन्सारी, डा सन्दिप कुमार, डा धीरज जोशी र डा सुदिप खनाल संलग्न थिए ।
पोस्टमार्टमका क्रममा प्रहरीले उनीहरूमाथि कुनै किसिमको दबाव वा त्रासको अवस्था सिर्जना गरेको थियो कि,जसका कारण उनीहरू गलत पोस्टमार्टम रिर्पोट लेख्न बाध्य भए ? त्यसैगरी निर्मलाको भेजिनल स्वाब परीक्षणमा संलग्न प्रहरीको केन्द्रिय प्रयोगशालाका चिकित्सकलाई पनि दबाव र प्रभावमुक्त पारेर सोधिनुपर्छ, आइपुगेको भेजिनल स्वाबपरीक्षण गर्नै नमिल्ने गरीकन्ट्यामिनेट (प्रदूषित) पारिएको थियो कि ?वा प्रहरी प्रयोगशालामा मात्र रहेको भेजिनल स्वाबसँग मिल्दामिल्दै पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त डीएनएसँग नमिलेको भनेर झूटो बोलिएको हो कि ?
प्रमाण मेट्नेलाई हिरासतमा लिएर अनुसन्धान
निर्मलाको शव भेटिएको स्थानका थुप्रै भिडियो क्लिपहरू सार्वजनिक भइसकेका छन् । ती सबमा प्रहरी प्रमाण संकलन गर्नभन्दा पनि मेट्न उद्दत देखिन्छ । निर्मलाको यौनाङ्ग पखालेको, उनको सुरुवाल र पेन्टी धोएको, घटनास्थलका पैतलाका डोबहरू मेटेको, कुरा ती क्लिपहरूमा देख्न सकिन्छ ।
प्रहरीले निर्मलाको साइकल भेटिएको स्थानबाट सडकपट्टी एक मिटरको दूरीमा पानीमा तीन वटा कापी रहेको कुरा मुचुल्कामै लेखेको छ । जबकि, कापीहरू ओभानै छन् । घटनास्थलमा अम्बाको पोको पनि भेटिएको कुरा प्रहरीले मुचुल्कामा उल्लेख नै गरेको छैन । र निर्मला हराएको बम परिवारको घरको आगनको त्यही अम्बाको रुख केही दिनपछि काटिएको छ । प्रहरी मुचुल्कामा निर्मलाको मुख बन्द अवस्थामा रहेको उल्लेख छ भने पोस्टमार्टम रिर्पोटमा खुलेको अवस्थामा रहेको र २८ वटा दाँत रहेको उल्लेख छ ।
सबैभन्दा ठूलो खुलासा त गृहमन्त्री रामबहादुर थापाले केही दिनअघि संसदको राज्य व्यवस्था समितिको बैठकमै गरिदिए कि, प्रहरीले निर्मलाको लुगा जलाएको र उनका बुवा यज्ञराजलाई पोस्टमार्टम रिर्पोटमा ‘ब्याक डेट’मा हस्ताक्षर गराएको भनेर । गृहमन्त्रीजत्तिको जिम्मेवार व्यक्तिले संसदको रेकर्डमा रहने गरी बोलेको कुरा हो यो । आखिर प्रहरीले यि सब काम कसका लागि र किन गर्यो ?
त्यसैले घटनास्थलमा जानेदेखि अनुसन्धान प्रक्रियामा संलग्न सबै प्रहरी अधिकृत तथा कर्मचारीलाई हिरासतमा लिएर छानबिन सुरु गर्नुपर्छ । डीएसपी ज्ञानबहादुर सेठीकै सामुन्ने घटनास्थलको प्रमाण मेट्ने काम भएको छ । घटनास्थल र अनुसन्धानमा संलग्न रहनेहरूमा प्रहरी इन्सपेक्टरद्वय एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, अन्य प्रहरी कर्मचारीहरूमा बाबुदेव अवस्थी, हरिसिंह धामी, देबबहादुर कुँवर, चाँदनी साउदलगायत छन् । सिपाही साउदले डीएसपी सेठीको अगाडि नैनिर्मलाको यौनाङ्गदेखि लुगा पखाल्नेसम्मको काम गरेकी थिइन् ।
त्यसबाहेक प्रहरीले जीवन घर्तीमगर, दिपक नेगी, हेमन्ती भट्ट, चक्रदेव बडु र दिलिपसिंह विष्टसहितका ५ जना निर्दोषलाई फसाउने कसरतसमेत गरेको छ । भट्ट, बडु र विष्टलाई त डीएसपी अंगुर जीसीको नेतृत्वमा केन्द्रबाट गएको सीआइबी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई चरम यातनासमेत दिइएको थियो । बडुलाई त चार दिनसम्म परिवारका सदस्यसँगसमेत भेट्न दिइएन ।
तिनै डिएसपी जीसीले हालै निलम्बित अवस्थामा एउटा अनलाईनलाई अन्तर्वार्ता दिँदै निलम्बित एसपी विष्ट, उनका छोरा किरण र किरणका साथी आयुश, निर्मला हराएको घरका बम दिदीबहिनी बबिता र रोशनीलाई ‘क्लिन चिट’ दिएका छन् । घटनामा उनीहरूको कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
प्रमाण मेट्नु पनि कानुनत दण्डनीय अपराध हो । उपर्युक्त व्यक्तिहरूको निर्मला बलात्कार तथा हत्यामा प्रत्यक्ष संलग्नता थियो/थिएन, छानबिन हुँदै जाला ।
तर प्रमाण मेटेको कुरा र यातना दिएर छद्म अभियुक्तखडा गर्न खोजेको कुरा घामजत्तिकै छर्लङ्ग भइसकेको अवस्थामा तत्काल हिरासतमा लिएर अनुसन्धान अघि बढाउनुपर्छ । त्यसपछि मातहतका अधिकारीले पनि मुख खोल्ने छन् कि, कसको आदेश वा दबावमा उनीहरूले ती काम गरे ? आफू फस्ने अवस्थामा उनीहरू पनि सत्य के हो बताउन तयार हुनेछन् । यसबाट अनुसन्धान अघि बढाउन मद्दत पुग्छ ।
अन्य तथ्य र संभावित सूचनादाताको खोजी
निर्मला हराएकै दिन एसपी विष्टका छोरा किरणले होटेल ओपेरामा आफ्नो जन्मदिन मनाउनुका साथै मोडलहरूको फोटो सुट पनि गरेका थिए । त्यो दिनको तस्बिरहरू उनले आफ्नो फेसबुकमा पोस्ट पनि गरेका थिए तर आफूसमेत शंकाको घेरामा परेपछि हटाएका थिए ।
प्रमाण मेट्ने प्रहरीले होटेलको सिसिटीभीबाट कुनै प्रमाण जुटाउनु भने जरुरी ठानेन । होटेल प्रशासनका अनुसार सिसिटीभीको संग्रहणीय क्षमता १५ दिनको मात्र थियो । तर जानकारहरूका अनुसार प्रविधिको प्रयोग गरेमा हार्डडिक्सबाट पुराना दृश्य पनि रिकभर गर्न सकिन्छ । होटेलका साथै सडकमा रहेका अन्य सिसिटिभीको हार्डडिक्सबाट ती दृश्य उतार गरी अनुसन्धान गर्नअझै संभव छ ।
पोस्टमार्टम रिर्पोटमा निर्मलाको पेटमा नपचेको खानेकुरा रहेको उल्लेख छ । डा चौधरीका अनुसार खानेकुरा खाएको सामान्यतया ४ देखि ६ घण्टासम्ममा पचिसक्छ । आमा दुर्गादेवीका अनुसार निर्मलाले बिहान ९ बजे खाना खाएकी थिइन् । जसअनुसार उनको पेटको खानेकुरा २ बजेअघि नै पचिसक्नुपर्ने हो । के निर्मलाको हत्या २ बजेअघि नै भएको थियो त ? बम दिदीबहिनीका अनुसार निर्मला २ बजेपछि मात्रै उनीहरूको घरबाट बाहिरिएकी थिइन् ।
के निर्मलाले उनीहरूको घरमा पनि केही खानेकुरा खाएकी थिइन् ? होइन भने,यस्तोमा उनीहरू स्वत शंकाको घेरामा आउँछन् । तर प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बम दिदीबहिनीको बचाउमा दिएको जोडदार अभिव्यक्तिसँगै उनीहरूसँग थप बुझ्न प्रहरी स्वयम् हच्किएको छ ।
प्रहरी प्रतिवेदन र पोस्टमार्टम रिर्पोटअनुसार बलात्कारपछि निर्मलाको हत्या साढे ३ देखि साढे ४ बजेको बीचमा भएको हो । निर्मला बम दिदीबहिनीको घरबाट बाहिरिएपछि कहा गइन् ? होटेल ओपेराको पार्टीमा ? त्यहा उनले केही खाइन् ? यस्ता प्रश्नको उत्तर खोज्नका लागि थप गहन अनुसन्धान आवश्यक छ ।
हेमन्ती र चक्रदेवलाई यातना दिएर जबरजस्ती अपराधी बनाउने प्रहरी प्रयासपछि स्थानीयबासी निकै त्रसित छन् । आफैलाई फसाइदिने हुन् कि भनेर उनीहरू आफूसँग भएका सूचना पनि प्रहरीलाई दिन हच्किरहेका छन् । यस्तोमा प्रहरीले विश्वासको वातावरण सिर्जना गरी स्थानीय सूचनादाता र यस प्रकरणसँग जोडिन सक्ने अन्य घटनाक्रमका साक्षीहरू पहिल्याउनुपर्छ । र उनीहरूलाई विश्वासमा लिएर सूचनाहरू संकलन गर्नुपर्छ ।
निर्मलाको शव भेटिएको स्थानबाट करिव ४ सय मिटरको दूरीमा सेनाको श्री २५ नम्बर बाहिनी गण छ । सेनाको उपल्लो निकायसँग समन्वय गरेर त्यसतर्फ पनि अनुसन्धानका केन्द्रित गर्नुपर्छ । यस घटनाको सुरुवाती अनुसन्धान अधिकृत रहेका इन्सपेक्टर भट्टको घर त झन् निर्मलाको शव भेटिएको स्थाननजिकै छ । यो कोणबाट पनि अनुसन्धान अघि बढाउनुपर्छ ।
निर्मला प्रकरणले यतिखेर अपेक्षित गतिको साटो विश्राम लिएकोजस्तो देखिनु स्वभाविक हो । तर यसको अन्त्य भइसकेको छैन । यति ठूलो जघन्य अपराधको अनुसन्धान यत्तिकै तुहिनु भनेको सुरक्षा संयन्त्रको असफलतामात्रै होइन, राज्यले संविधानमा ग्यारेन्टी गरेको न्यायको निधारमा कलंकको टिको लाग्नु हो । यो घटनालाई ढाकछोप गर्ने कुरामा सिंगो राज्यसंयन्त्र लागिपरेको छ भने बेग्लै कुरा, नत्र दृढ इच्छाशक्ति र इमान्दार प्रयास भए ‘निर्मलाका निम्ति न्याय’ अझै संभव छ । यो लेख आजको नयाँ पत्रिकाबाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ असोज २०७५, १० : ०१
लेखकबाट थप