ललितपुरको नख्खु खोलामा बन्यो पक्की पुल

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १३ : २९
ललितपुरको नख्खु खोलामा बन्यो पक्की पुल

काठमाडौं। ललितपुर महानगरले आफ्नै लगानीमा वडा नम्बर २२ र २७ लाई जोड्ने नख्खु खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ । ५ करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज उद्‌घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताए ।महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासी प्रत्यक्ष लाभान्वित हुने बताइन् ।

'कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक– सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ,' उनले भनिन् ।

कार्यक्रममा वडा नम्बर २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नम्बर २६ का अध्यक्ष सुरेश महर्जन र वडा नम्बर २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरूप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए ।उनीहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरे ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस