गाजास्थित हाम्रो कार्यालयमा आक्रमण हुँदा २२ जना मारिए : रेडक्रस

एजेन्सी

शनिबार, ०८ असार २०८१, १० : २८
गाजास्थित हाम्रो कार्यालयमा आक्रमण हुँदा २२ जना मारिए : रेडक्रस

File pic

एजेन्सी । इन्टरनेसनल कमिटी अफ रेड क्रस (आईसीआरसी) ले गाजास्थित आफ्नो कार्यालयमा भएको आक्रमणमा  २२ जना शरणार्थीको मृत्यु भएको जनाएको छ।

आईसीआरसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार दिउँसो, रेड क्रसको अन्तर्राष्ट्रिय समितिको कार्यालय र निवासनजिकै भारी क्यालिबर रकेट खसे।’ आईसीआरसीले आफ्नो विज्ञप्तिमा नागरिक र मानवीय सहायतालाई हानि हुन नदिन सावधानी अपनाउनु सबै पक्षको दायित्व भएको पनि उल्लेख गरेको छ। 

आईसीआरसीले अगाडि भनेको छ, ‘आक्रमणले हाम्रो कार्यालयलाई क्षति पुर्‍याएको छ, जहाँ हाम्रा धेरै प्यालेस्टिनी सहकर्मीहरूसहित सयौँ विस्थापितले पालमा शरण लिइरहेका थिए।’

‘यो घटनामा रेडक्रस फिल्ड अस्पताल नजिकै ठूलो संख्यामा हताहत भएको छ। अस्पतालले २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ र ४५ जना घाइते भएका छन्। घटनामा थप हताहत भएको खबर छ।’

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले उक्त क्षेत्रमा आईडीएफले कुनै कारबाही नगरेको देखाउँछ। तर हामी घटनाको समीक्षा गरिरहेका छौँ।’ 

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गोलाबारीमा २५ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताएको छ। मन्त्रालयले यसका लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस