ललितपुरलाई हराउँदै भैरहवा फाइनलमा

विहीबार, १३ पुस २०७४, १७ : ०४
ललितपुरलाई हराउँदै भैरहवा फाइनलमा

एभरेष्ट प्रिमियर लिगको आज भएको दोस्रो क्वालिफायर्समा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हराउँदै फाइनलमा पुग्न सफल भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको थियो ।  उसका ओपनर शंकर राना र जयकिसन कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्न सफल भए । कोल्सावाला ४२ रनमा आउट हुँदा ललितपुरले पहिलो विकेट गुमायो ।
लगत्तै शंकर रानापनि आउट भएपछि ललितपुरले ६० रनमा दोस्रो विकेट गुमायो । त्यसपछि विदेशी खेलाडी सन्नी पट्टेल ब्यक्तिगत २४ रनमा बाहिरिएपछि ललितपुरले ९७ रनमा तेस्रो विकेट गुमायो ।

त्यसको लगत्तै कुशल भुर्तेलपनि खाता खोल्न नपाउदै आउट भएपछि ९८ रनमा चौथो विकेट गुमायो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २० तथा दिपेश भण्डारीले २२ रनको योगदान गरे । त्यस्तै सोनु तामाङले १० रन थपे । जवाफमा भैरहवा २० ओभरमा सात विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । २५ रन हुँदा पहिलो विकेट गुमाएको भैरहवाले ४४ रन हुँदा दोस्रो विकेट खेर फाल्यो ।

उसले प्रथम सालुन्की ३२ रनमा पेभेलियन फर्किएपछि दोस्रो विकेट खेर फाल्यो । भैरहवाको स्कोर ७४ रन हुदा चार विकेट गुमायो । कप्तान शरद भेषवाकर नौ तथा आरिफ शेख मात्र ६ रनमा आउट भए । उनका लागि भुपेन्द्र थापाले १९ रन जोडदा पुनित मिश्रले १६ रनको योगदान गरे ।

भैरहवाको जितमा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ् गरे । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएकोमा उनले दुई छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुर्याए । यसअघि बुधबार भएको खेलका विराटनगरले भैरहवालाई हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस