एमालेले हिंसा शब्द प्रयोग गरेर जनयुद्धलाई बदनाम गर्‍यो : अग्नि सापकोटा

सफल खबर संवाददाता

शनिबार, २९ भदौ २०८१, १४ : ३८
एमालेले हिंसा शब्द प्रयोग गरेर जनयुद्धलाई बदनाम गर्‍यो : अग्नि सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटाले एमालेले संसदमा जनयुद्धलाई बदनाम गर्न हिंसा शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । शनिवार काठमाडौँमा भएको धादिङ काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको ८ औँ जिल्ला भेला कार्यक्रममा सम्बाेधन गर्दै सापकोटाले हजारौँ जनताको बलिदानीबाट आजको परिवर्तन आएको बताउँदै जनताको विषयमा गडबडी गरे प्रतिकार गर्न आग्रह गरे ।  

सापकोटाले भने– ‘जुन जनयुद्धको बलमा आज राष्ट्रपति भएका छन्, प्रधानमन्त्री, मन्त्री भएका छन्, जनयुद्ध नभएको भए आज पनि तिनीहरू जेलको चिसो छिँडीमा हुने थिए । उनीहरुले जनयुद्धलाई अपमान गरेको विरुद्ध आँधी बेहोरी सिर्जना गर्ने गरी तपाईंको हातमा कलम छ भने कलम चलाउनुस, कम्प्युटर, मोबाइल जे छ त्यसबाट प्रतिकार गर्नुस् । ती भरौटेहरू जो हिजो दुई चार जना मान्छे लिएर रत्नपार्कतिर घुम्दै थिए । जब जनयुद्ध र जनआन्दोलनको संयोजन भएपछि २५० वर्षको राजतन्त्र अन्त्य भयो, अहिले जे परिवर्तन भएको छ जनयुद्धको बलमा भएको छ ।’

उनले जनयुद्धबाट अझ अर्कै परिवर्तन चाहे पनि तत्कालीन अन्तर्राष्ट्रिय, राष्ट्रिय, राजनीतिक परिस्थितिका कारण अहिलेको व्यवस्थाका लागि सहमति र सम्झौता गरेको बताए । उनले पार्टी जनवादी क्रान्तिको बाटोमा निरन्तर लागिरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस