कस्तो बजेट ल्याउँदै छ लुम्बिनी सरकार ?

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, १० : ५५
कस्तो बजेट ल्याउँदै छ लुम्बिनी सरकार ?

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक २०८१/०८२ को बजेट आज ल्याउँदै छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले दिउँसो प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् । 

सरकारले चालू आर्थिक वर्षको भन्दा झण्डै १० अर्ब रूपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डेले राजस्वसहित स्रोतको संकुचनका कारण सरकारले आगामी वर्षका लागि चालू आर्थिक वर्षको भन्दा झण्डै ३० प्रतिशत घटाएर बजेट ल्याउने संकेत दिए । 

सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट निर्माणमा समेत असर परेको हो । 

संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३० अर्ब हाराहारीको बजेट आउने आकलन छ । यसपालिको बजेटले रोजगारी र आर्थिक विकासलाई प्रमुख रूपमा आउने बताइएको छ ।

८० प्रतिशत काम सकिए पनि सम्पन्न भएका आयोजनालाई बजेट उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बताए । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म एक हजार १५४ खानेपानीका आयोजनाअघि बढाएको छ । 

जुन आयोजना सम्पन्न गर्न २४ अर्ब ९२ करोड बजेट आवश्यक पर्ने लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्रालयले जनाएको छ । सरकारले अघि बढाएको अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्यलाई बजेटमार्फत् कार्यान्वयन गर्न प्रदेश सभा सदस्यहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस