टी–ट्वान्टी विश्व कप : पाकिस्तानको पहिलो जीत

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, ०८ : ०४
टी–ट्वान्टी विश्व कप : पाकिस्तानको पहिलो जीत

काठमाडौं । जारी टी–ट्वान्टी विश्व कपमा पाकिस्तानले पहिलो जीत निकालेको छ । मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै पाकिस्तानले तेस्रो खेलमा पहिलो जीत हासिल गरेको हो ।

पाकिस्तान यसअघि अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको भने दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जीत निकालेको थियो । अन्तिम आठमा पुग्न अन्य खेलको नतिजा कुर्नुपर्ने अवस्थामा रहेको पाकिस्तानले क्यानाडाले दिएको १ सय ७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी छँदै पूरा गर्‍यो ।

पाकिस्तानका ओपनर मेहम्मद रिजवानले नटआउट अर्धशतक बनाए । ५३ बल खेलेका उनी ५३ रनमा नटआउट रहे । कप्तान बाबर आजमले ३३ रन जोडे । क्यानाडाका डिलोन हेलिंगरले २ तथा जिरेमी गोर्डनले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन् । 

पाकिस्तानका मोहम्मद आमिरले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । हरिस रौफले २ तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान १ विकेट लिए । समूह एमा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन् । पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंकविहीन छ ।

अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ ।

प्रतिक्रिया दिनुहोस