कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार, २ वटा मरे

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १६ : ४९
कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार, २ वटा मरे

काठमाडौं। कर्णाली नदीको झोलुङ्गे पुलमा अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । बाँकी दुई खच्चडको भने मृत्यु भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए ।

खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।'पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो,' उनले भने– 'बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौं ।'

पुलको दाहिने तर्फको जाली लत्रिएको थियो । खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए ।पुलको दाहिने तर्फको भाग पुरै बाङ्गो भएको छ ।उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस