जीर्ण झोलुङ्गे पुल चुँडिदा १५ खच्चड फसे

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १२ : १७
जीर्ण झोलुङ्गे पुल चुँडिदा १५ खच्चड फसे

काठमाडौं। अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा दुई घन्टादेखि १५ वटा खच्चड फसेका छन् । आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको लठ्ठा चुँडिदा खच्चड फसेका हुन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ । पुलमा फसेका खच्चडहरु घाइते भएर रगत्याम्म बनेका छन् ।

जीर्ण भएको पुलमा अछाम बाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिए। नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय श्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले बताए। उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई प्रदेशबीच आउजाउ गर्ने बाटो समेत बन्द भएको छ । यो पुलले सुदूरपश्चिमको अछाम र र कर्णाली प्रदेशको दैलेख जिल्लालाई जोडेको थियो । २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।

प्रतिक्रिया दिनुहोस