साताको सेयर बजार– परिसूचक सामान्य बढ्यो, २० अर्बमाथिको कारोबार

सफल खबर संवाददाता

शनिबार, २६ जेठ २०८१, १३ : ३८
साताको सेयर बजार– परिसूचक सामान्य बढ्यो, २० अर्बमाथिको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा ८.२५ अंकको वृद्धि आएको छ । सातामा पाँच कारोबार दिनमध्ये ३ दिन घट्दा २ दिन बढ्यो । यसक्रममा नेप्से परिसूचक ८ अंकभन्दा बढीले उकालो लागेको हो ।

यो साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेको थियो । यस्तै सोमबार ३.९७ अंकले घट्दा आउँदा मंगलबार पुनः परिसूचक ६.२२ अंकले बढ्यो । यसैगरी, बुधवार फेरि  परिसूचक ५.५८ अंकले घट्यो भने बिहीबार पुनः १.९३ अंकले परिसूचक घटेको थियो ।

साताका पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन परिसूचक घटे पनि न्यून अंकमा घट्यो । जसकारण दुई दिन मात्रै बढ्दा पनि समग्रमा ८.२५ अंकले परिसूचक बढेर बन्द भयो । यससँगै यो साता परिसूचक २०७७ अंकमा पुगेर रोकिएको छ ।

यो साता आइतबार ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै सोमबार ३ अर्ब ९७ करोड, मंगलबार ४ अर्ब २ करोड, बुधवार ३ अर्ब ९६ करोड र बिहीबार ४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो । यो साता समग्रमा २० अर्ब ५७ करोड रुपैयाँको कारोबार भयो ।

गत साताको चार कारोबार दिनमा १७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसक्रममा नेप्सेको चार कारोबार दिनमा झन्डै ६२ अंकले परिसूचक घटेको थियो । यो साता सामान्यरुपमा नेप्से परिसूचक बढेपछि पुँजीकरण ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । गत साता ३२ खर्ब ८६ अर्ब रुपैयाँ थियो । यो साता ८ अर्ब रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस