हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन : सोमपाल कामी

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १२ : ३५
हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन : सोमपाल कामी

काठमाडौँ । खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध बिर्सन लायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो ।

नेपाली समर्थक ग्रान्ड पेरी रङ्गशालामा पूर्ण भरिभराउ रहँदा टियु क्रिकेट मैदानकै अनुभूति भएको थियो । तर ती दर्शकले जितको खुसी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद बन्न सकेन । दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

‘यो हारबाट दबाबमा छैनौँ । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौँ । सुपर आठका लागि योग्य टोली हौँ भन्ने सन्देश दिन चाहन्छौँ । आज हार व्यहोर्यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’तीव्र गतिका बलर सोमपालले भने ।

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही साबित भयो । किनकि नेपालले शुरुदेखि नै ब्याटिङमा निकै सङ्घर्ष गर्नुपर्यो । एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नेपाल थिएन ।

तर कप्तान रोहितकुमार पौडेलबाहेक तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दियो ।

जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए । तर सफल हुन भने सकेनन् । डच टोली पनि सहजै लक्ष्य भेट्याउन सफल भएनन् । त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्यो । 

प्रतिक्रिया दिनुहोस