एमसीसीका उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १५ : ४२
एमसीसीका उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता

काठमाडौं। नेपालको भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा  सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । 'एमसीसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ,' अर्थमन्त्री पुनले भने ।

एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्ड-खण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए ।

उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए ।एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र तीन सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ ।आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन पनि निर्माण गर्नेछ ।

तीन सय १५ किलोमिटर लामो ‘डबल सर्किट’ चार सय ‘किलोभोल्ट’ प्रसारण लाइन निर्माण हुनेछ ।आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भूमहीमा सब–स्टेसन निर्माणको काम प्रारम्भ भएको छ ।

प्रतिक्रिया दिनुहोस