भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक अनुमतिपत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन् ।
शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औँ स्थापना दिवसको अवसरमा सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
‘सवारी दुर्घटनालाई कम गर्नका निम्ति लाइसेन्स दिँदा नै उनीहरूलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘कहाँ कसरी चलाउने ? कति छेउसम्म जाने ? कुन तर्फबाट क्रस गर्ने, ओभरटेक कसरी गर्ने ? भन्ने विषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक छ ।’
ट्राफिक प्रहरीले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उनले नागरिकलाई असर नपर्ने गरी सहजीकरण गर्न आवश्यक रहेको समेत बताइन् । मन्त्री चौधरीले भनिन्– ‘कानुन विपरीत कसैले काम गरेको छ भने त्यसलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक छ । तर नागरिकलाई पीडा दिनका निम्ति हाम्रा कार्यहरू हुनुहुँदैन ।’
समाजमा अझै पनि प्रहरी भनेपछि डराउने प्रवृत्ति रहेको भन्दै उनले प्रहरीलाई नागरिकको सेवा गर्ने राष्ट्र सेवकको रूपमा बुझ्न आवश्यक रहेको बताइन् । सामुदायिक प्रहरी सेवा केन्द्रहरूले यो कुरामा सहजीकरण गर्दै आएको भन्दै उनले समुदाय र प्रहरी मिलेर
समुदायको काम अगाडि बढाउने कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने समेत बताइन् । ‘समाजमा सेवा गर्न चाहने व्यक्तिहरूको कमी छैन । हामी बाँचुन्जेल समाजलाई केही सेवा भाव दिएर जान सकेमा धेरै ठुलो समाज कल्याण, मानव कल्याण हुनेछ’, मन्त्री चौधरीले भनिन् ।
ज्येष्ठ नागरिक ऐनमा सन्तानले बुवा आमाका निम्ति आफ्नो कमाइको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको भन्दै उनले अब त्यससम्बन्धी छिट्टै नियमावली समेत आउने बताइन् । मन्त्री चौधरीले सरकारी वा निजी क्षेत्रबाट कमाई गर्ने अवस्थामै रहेको र पेन्सन आउने आमाबाबुको हकमा भने यो ऐन लागू हुनैपर्छ भन्ने अनिवार्यता नभएपनि कमाई वा आम्दानी नहुने आमाबाबुको हकमा भने यो ऐन लागू हुने स्पष्ट पारिन् ।
केन्द्रका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दीपक थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ लगायतले सामुदायिक सेवा भावले संस्थाहरू अगाडि बढ्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला मन्त्री चौधरी र इजरायली राजदूतबिच शिष्टाचार भेट, विपिनको रिहाइबारे छलफल
कमाइको १० प्रतिशत आफ्ना बाबुआमाका लागि लगानी गर्नुपर्छ: मन्त्री चौधरी
मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट