साताको सेयर बजार : ६१ अंकले घट्यो परिसूचक

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, १४ : ००
साताको सेयर बजार : ६१ अंकले घट्यो परिसूचक

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६१.९५ अंकको गिरावट आएको छ । चारदिन मात्रै कारोबार भएको नेप्से परिसूचक तीन दिन घटेको थियो । साताको सोमबार भने परिसूचक बढ्यो ।

आइतबार २२.१४ अंकले घटेको परिसूचक सोमबार ३.८९ अंकले बढ्यो । यस्तै बुधवार २३.८१ र बिहीबार १९.८९ अंकले परिसूचक खुम्चियो । मंगलबार भने गणतन्त्र दिवस परेकाले कारोबार भएन । यो साता परिसूचक झन्डै ३ प्रतिशत घटेको हो ।

साताका चार कारोबार दिनमध्ये तीन कारोबार दिन नै उच्च अंकले घटेसँगै नेप्से परिसूचक २०६९ अंकमा आएर रोकिएको छ । यो साताको सुरुवातमा परिसूचक २१३१ अंकबाट सुरु भएको थियो ।

परिसूचकमा उच्च अंकको गिरावट आएपनि यो साताभर १७ अर्ब रुपैयाँ बराबरको कारोबार भयो । आइतबार ४ अर्ब ४२ करोडको कारोबार हुँदा सोमबार ३ अर्ब ८७ करोडको कारोबार भयो । यस्तै बुधबार ४ अर्ब ५१ करोड र बिहीबार ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो ।

परिसूचक घटेपछि नेप्सेको कूल बजार पुँजीकरण समेत घट्यो । यो साता बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । जुन, गत सातामा ३३ खर्ब ७९ अर्ब रुपैयाँ थियो । यो ३ प्रतिशतको गिरावट हो ।

प्रतिक्रिया दिनुहोस